News

Sep 21, 2011

वीर अस्पतालको क्यान्टिन 'सबैभन्दा फोहोर'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ४ -खाने ठाउँ सफै छ। टेबुल पुछिएकै छन्। भान्साको ढोका खुल्नेबित्तिकै ह्वास्स गनाउँछ। उफ्! शौचालयसँगै रहेको भान्सामा खानेकुरा भुइँभरि छरिएको छ। पकाउन ठिक पारिएको ममः, चाउमिन, तरकारी राखेको भाँडा गाईवस्तुको कुँडो पकाउन प्रयोग हुनेजस्तै छ। चिया पकाउने भाँडा कटकटिएको। चिया उम्लिएर बिरामीले खाने जाउलोमा पोखिएको छ। भान्सापछाडि ढलजस्तै फोहोर। लामो समयदेखि थुप्रिएको फोहोर व्यवस्थापन नगर्दा झिँगा भन्किँदै। भाँडा माझ्ने ठाउँमै खानेकुरा। सड्दै गरेका। यो वीर अस्पतालको क्यान्टिन हो। वाणिज्य विभागको नेतृत्वमा मंगलबार अनुगमन टोली पुग्दा 'रछ्यानमै' कामदार खानेकुरा पकाइरहेका थिए। 'पुरानो सरकारी अस्पतालको क्यान्टिन यस्तो होला भन्ने ठानेकै थिएनौं,' वाणिज्य विभागका उपसचिव टीका भण्डारीले भने, 'सबैभन्दा फोहोर भान्सा त यहीँ रहेछ।'
बिरामी र कुरुवाले खाने खाना नै अस्वस्थकर पाइएपछि अनुगमन टोलीले अस्पतालका निर्देशक डा.बुलन्द थापालाई बोलाएर क्यान्टिन अवलोकन गराएको थियो। उनले भने, भने, 'क्यान्टिन मेरो कार्यक्षेत्रमा पर्दैन।' भान्सा अत्यन्तै फोहोर भए पनि संवेदनशील क्षेत्र भएकाले अनुगमन टोलीले क्यान्टिन बन्द गरेन । टेलीले सञ्चालकलाई तत्काल स्वच्छता कायम गरि तीन दिनभित्र स्पष्टीकरणका लागि वाणिज्य विभागमा उपस्थित हुन पत्र काटेको छ। 'अस्पतालको क्यान्टिन भएकाले हामीले संवेदनशीलता हेरेर बन्द नगरेका हौं,' विभागका निरीक्षण अधिकृत कमलबहादुर थापाले भने। अस्पतालका निर्देशकले आफ्नो कार्यक्षेत्रमा नपर्ने भनेपछि अनुगमन टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. दामोदरप्रसाद पोखरेल र रजिस्ट्रार मुकुन्दराज पन्थीलाई भेटेको थियो। उनीहरूले क्यान्टिन फोहोर रहेको स्वीकार गर्दै एक महिनाभित्र अर्कै सञ्चालकलाई दिएर सुधार गर्ने प्रतिबद्धता जनाए। अस्पतालका कर्मचारी र चिकित्सकले व्यवस्थापनको लापरबाहीका फोहोर खान बाध्य भएको बताए। 'नजिकै अन्य पसल पनि छैन,' अस्पतालमा कार्यरत चिकित्सक डा. सुजुराज श्रेष्ठले भने, 'फोहोर देखे पनि आँखा चिम्लेर खान्छौं।'

No comments: