News

Sep 20, 2011

प्रधानमन्त्री न्युयोर्कमा, मुनसँग ब्रेकफास्ट, ओबामासँग डिनर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ३,राष्ट्रसंघीय महासभामा सहभागी हुन १३ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई आज बिहान न्युयोर्क पुगेका छन्। स्थानीय समय अनुसार दिउँसो ३ बजे जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको टोलीलाई राष्ट्रसंघीय नियोगका स्थायी प्रतिनिधि लगायत दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए। न्युयोर्कमा महासभा बैठक मंगलबारदेखि सुरु हुँदैछ। प्रधानमन्त्रीको सम्बोधन भने शुक्रबार छ। प्रधानमन्त्री भट्टराईले मंगलबार नर्वेका प्रधानमन्त्री र क्युबाका विदेशमन्त्रीसित भेट्दैछन्। त्यसैगरी उनले वासिङटन पोस्टलाई अन्तर्वार्ता दिँदैछन्। त्यसैगरी स्थानीय समय अनुसार साँझ साढे छ बजे उनी हायात होटलमा रिसेप्सनमा सहभागी हुनेछन्। बुधबार उनले भुटानी प्रधानमन्त्री, श्रीलंका र बोलिभियाका राष्ट्रपतिलाई भेट्ने छन्। त्यसैगरी बिहान राष्ट्रसंघका महासचिव बान कि मुनसँग ब्रेकफास्ट गरी बेलुकी अमेरिकी राष्ट्रपतिको रात्रीभोजमा सहभागी हुनेछन्। त्यसैगरी बिहीबार उनले स्लोभानियाका राष्ट्रपतिसँग भेट्ने कार्यक्रम छ। त्यही दिन उनले कनेक्टिकटमा आफ्ना बाल्यकालका गुरुसँग निजी भेट पनि गर्दैछन्।
शुक्रबार उनले फिनल्यान्डका राष्ट्रपति, माल्दिभ्सका उपराष्ट्रपति, मौरिससका प्रधानमन्त्री र अमेरिकी उपमन्त्रीसँग भेट्ने छन्। यही दिन न्युस्कूलमा उनले मार्क्सवाद सम्बन्धी प्रवचन दिनेछन्। शुक्रबारको पहिलो सत्रमा उनले राष्ट्रसंघमा सम्बोधन गर्नेछन्। यही दिन उनले भारतीय प्रधानमन्त्री र चिनियाँ टोलीसँग पनि भेट्नेछन्। शुक्रबार राति पौने १२ बजे उनी नेपालका लागि प्रस्थान गर्नेछन्।

No comments: