News

Sep 24, 2011

पान्थरको आङसराङमा नुबो दक्षिण क्षेत्रीय सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/पान्थरे लुङा
असोज ६,२०६८,मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको पान्थर जिल्ला नुवो दक्षिण इलाकाको दोस्रो क्षेत्रीय सम्मेलन २०६८ असोज ५ र ६ गते सम्पन्न भएको छ । आङसराङ गा.वि.स.को श्री जयनारायण आदर्श उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा असोज ५ गते उद्घाटन सत्र राती ८.३० बजेसम्म सञ्चालन भएको थियो । खराब मौसमका कारण फेदेनबाट हिँडेको गाडीमा सवार अतिथिहरू बडो जोखिमपूर्ण यात्रा गर्दै सभास्थलमा अबेरमात्र पुगेको थिए । अतिथिहरूको व्यग्र प्रतिक्षामा रहेका हजारौं लिम्बुवान प्रेमी जनताहरू कार्यक्रम शुरुहुँदा अधिकांश घर फर्किसकेका थिए । राजनैतिक कार्यक्रमहरूमा इतिहासमै पहिलोपटक सबैभन्दा बढी जमघट भएको स्थानीयबासीले टिप्पणी गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासचिव फक्ताङलुङ योङहाङले "हामीले घाम-पानी, हुरी-बतास, भोक-प्यास, रात-साँझ पनि नभनीकन लिम्बुवान प्राप्तीका लागि हमेशा लागिपरेका छौं" भन्नुभयो । वहाँले यो लिम्बुवान राज्य प्राप्तिको महान अभियानमा सबैलाई बडो उत्साहका साथ लागि पर्न आग्रह गर्नुभयो । त्यसरी नै, विशेष अतिथि केन्द्रीय सचिवालय सदस्य दिलेन्द्र कुरुम्बाङले विश्वका संघीय मुलुकहरूको उदाहरण दिंदै उनीहरूले गरेको प्रगतिका बारेमा जानकारी गराउनुभयो । लिम्बुवान सबै लिम्बुवानबासीको साझा राज्य बन्ने बताउँदै हाम्रो एकमात्र अभिष्ट लिम्बुवान भूमी मुक्ति भएकाले यस सवालमा कुनैपनि हालतमा सम्झौता हुन नसक्ने विचार राख्नुभयो । कार्यक्रमलाई केन्द्रीय सदस्य संगम खनाल, जिल्ला अध्यक्ष लाबाहाङ चेम्जोङ, महिला परिषदका भिमा लिम्बू, नेकपा, गाउँ परिषदको तर्फबाट इन्द्रबहादुर आङदेम्बे, एमालेका वीरबहादुर कुरुम्बाङ लगायतले सम्बोधन गरेका थिए । लिम्बुवान कलाकार परिषदका कलाकारहरू मनिष सेन्चुरी, विनिता हेम्ब्या, सूर्य आङदेम्बे, सुस्मिता राई लगायतले गीत गाएर मनोरञ्जन दिलाएका थिए भने सेहोनाम्लाङ क्लबका बहिनीहरूले लिम्बूवानी नृत्य प्रस्तुत गरेका थिए ।
खुला सत्रको समापन लगत्तै शुरुभई असोज ६ गते बिहान ४ बजेसम्म सञ्चालन भएको बन्द सत्रले सुजन आङदेम्बेको अध्यक्षतामा १९ सदस्यीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद नुबो दक्षिण क्षेत्रीय समिति निर्माण गरेको छ । त्यसैगरी, अन्य पदाधिकारीहरूमा बीरेन चेम्जोङ उपाध्यक्ष, विजय लावती सचिव, हेमन्ता सेर्मा कोषाध्यक्ष चयन भएका छन् भने सदस्यहरूमा धडकन आङदेम्बे, अनिल लावती, कमल आङदेम्बे, पूर्ण नेम्बाङ, गोरे राई, इन्द्रकुमार राई, विजन नेम्बाङ, सुरेशकुमार चेम्जोङ, डिल्लीशोर चेम्जोङ, पूर्ण मिफोक, पूर्णहाङ सङबाङफे, कमला सेर्मा, मिलन सङबाङफे, मविन्द्र सेर्मा र मनिसा आङदेम्बे रहेका छन् । नुबोदक्षिण क्षेत्रअन्तर्गत सराङडाँडा, आङसराङ, माङजाबुङ, यासक, स्याबरुम्बा, रानीगाउँ, फाक्तेप र चित्लिङदेन गरी ८ गाविस पर्दछन् । त्यसैगरी, असोज ६ गते जयनारायण आदर्श उच्च माविमा संघीय विद्यार्थी युनियन इकाई समिति पनि गठन भएको छ ।

No comments: