News

Sep 24, 2011

इलाममा लिम्बुवानको शैक्षिक आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/दिलु लावती
असोज ६, इलाम,संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको भातृसंगठन संघीय विद्यार्थी युनियन लिम्बुवान जिल्ला कार्य समिति इलामले असोज ६ गते एक दिने शैक्षिक आमहड्तालको आन्दोलन गरेको छ । आन्दोलनको क्रममा इलाम जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी स्कुल तथा क्याम्पसहरू असोज ६ गते एक दिनका लागि बन्द गरिएको जिल्ला अध्यक्ष रोशन राईले जानकारी दिएका छन् ।
आन्दोलनकै सिलसिलामा असोज ५ गते आयोजित विशाल जुलुशले इलाम नगरपालिका परिक्रमा गरी गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य तथा इलाम जिल्ला इन्चार्ज थाङसाङ लावतीले कथित् एकात्मक टिचिङ् लाईसेन्सको नमूनालाई जलाई आफ्नो मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा लिम्बुवानका सरकारी स्कुलहरूमा ठूला राजनैतिक दलहरूको हाबी भएको तथा शिक्षक नियुक्तिमा घुषपैठ भएकोले तुरुन्त राजनैतिक हस्तक्षेप बन्द गर्नुपर्ने, निजी स्कुलहरूलाई दिइएको अल्टिमेटम फिर्ता गर्नुपर्ने, संघीय शिक्षा लागू गर्नुपर्ने, एकात्मक शिक्षाप्रणाली खारेज गर्नुपर्ने र सरकारी स्कुलहरूमा गुणस्तरीय शिक्षा लागु गर्नेपर्ने बताउनु भयो ।
त्यसैगरी, पत्रकार परिषदका अध्यक्ष दिलकुमार लावतीले संघीयवादी पत्रकारहरू गाउँगाउँमा प्रवेश गरिरहेकाले एकात्मकवादीहरूको करतुतहरू चाडै पर्दाफास गर्ने चेतावनी दिनुभयो । सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई संघीयता र लिम्बुवानको पक्षमा कलम चलाउने हिम्मत नगरे पनि यसको अनाहक विरोधमा कलमको दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।
यसै अवसरमा, इलाम जिल्लामा संघीय लिम्बुवान शिक्षक परिषद जिल्ला कार्य समिति पनि गठन गरिएको छ । शिक्षक परिषदका अध्यक्षमा भीम एक्तेन, सचिवमा छत्र चौहान, अर्थ सचिवमा ओम अर्याल रहेका छन् । त्यसैगरी, सदस्यहरूमा गोविन्द लिम्बू, श्याम गुरुङ, याममाया गुरुङ, निमाडोल्मा काजी लेप्चा, दिलबहादुर गुरुङ, सरदचन्द्र कन्दङ्वा, राजकुमार खाती र गजेन्द्र एक्तेन रहेका छन् । कार्यक्रम केन्द्रीय सदस्य हरि श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो ।

No comments: