News

Sep 14, 2011

भ्रष्टाचार ठहर भएका चतुर्वेदी अदालतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २८- भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदसहित जरिवानाको सजाय सुनाइएका नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी अदालतसमक्ष उपस्थित भएका छन्। अदालतको फैसला कार्यान्वयन स्वयं उपस्थित भएका चतुर्वेदीले कानुन बमोजिम सजायमा २० प्रतिशत छुट पाएका छन्। अदालतको फैसला कार्यान्वयनका लागि आफैँ उपस्थित भएका चतुर्वेदीले कूल सजायको २० प्रतिशत छुट पाउ भन्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए। छुटपछि उनले ११ महिना छ दिनमात्रै जेल बसे पुग्ने भएको छ। मुलुकी ऐनको दण्ड सजाय महलको ४१ (क) मा फैसला भएको मितिले ६० दिनभित्र अभियुक्त अदालतमा हाजिर भएमा सजायको २० प्रतिशत छुट दिनसक्ने व्यवस्था छ। यही व्यवस्था अनुसार चतुर्वेदी निवेदन दिएका थिए। आयल निगमका पूर्व महाप्रबन्धक चतुर्वेदीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र १ करोड २४ लाख रुपैयाँ बिगो तिराउन र त्यति नै जरिवाना तिर्नुपर्ने फैसला सर्वोच्चले सुनाएको थियो। सर्वोच्चको फैसलाअनुसार उनले २ करोड ४८ लाख तिर्नुपर्ने हुन्छ। प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश शुशिला कार्कीको संयुक्त इजलासले बुधबार चतुर्वेदीलाई कैद र जरिवानाको फैसला सुनाएको हो। सर्वोच्च अदालतले पूर्वमन्त्री चिरञ्जीवि वाग्लेको भ्रष्टाचार मुद्दामा फैसला सुनाएपछिको यो दोस्रो हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चतुर्वेदीले महाप्रबन्धक हुँदा झण्डै ७ करोड अकुत सम्पत्ति कमाएको भन्दै २०५९ माघ २९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेषका तत्कालीन अध्यक्ष गोविन्दप्रसाद पराजुलीको समूहले २०६१ माघ ८ गते चतुर्वेदीलाई भ्रष्टाचार गरेको ठहर गर्दै १ कराड ९१ लाख जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो। त्यसविरुद्ध बुधबार सर्वोच्च अदालतले विशेषको फैसलामा केही उल्टी गरी जरिवाना र कैद घटाएर फैसला सुनाएको हो।

No comments: