News

Sep 23, 2011

'२००७ सालयताको इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोलखा, असोज ६ असोज- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलहरुको संलग्नतामा देशमा चरम भ्रष्टाचार बढेको आरोप लगाएका छन्। थापाले प्रमुख राजनीतिक दलहरुकै संलग्नतामा ५ वर्षयताको समयमा बढेको भ्रष्टाचारले ७ सालयताको इतिहास नै कायम गरेको आरोप पनि लगाए। शुक्रबार राप्रपा नेपाल दोलखाको जिल्ला अधिवेशन उद्‍घाटन कार्यक्रममा बोल्दै उनले भने- २००७ सालयताको इतिहासमा यति नाङ्गो र ठाडो भ्रष्टाचार कहिल्यै देखिएको थिएन। “सुडान घोटाला, विभिन्न संस्थानका भ्रष्टाचारलगायत खुलेका जति भ्रष्टाचार काण्ड छन् ती सबैमा ठूला राजनीतिक दलका नेताको संलग्नता छर्लङ्ग देखिन्छ”- उनले भने। उनले सुडान घोटाला माओवादी, कङ्ग्रेस, एमालेसहितका नेता र पूर्व गृह मन्त्रीको मिलेमतोमा भएको ठोकुवा गर्दै अख्तियारले समेत उनीहरुलाई उन्मुक्ति दिएर प्रहरी अधिकारीलाई मात्र मुद्दा चलाएको आरोप लगाए। “तिनै ठूला नेताको सहमतिमा राजनीतिक पार्टीका नेता मन्त्री र प्रशासकलाई उन्मुक्ति दिइएको छ”, थापाले भने – माओवादी कङ्ग्रेस र एमालेका नेताहरुकै संलग्नतामा रुबेल चौधरीलाई समेत बाहिर भगाउने काम गरियो। थापाले दलहरुकै कारण देशमा दण्डहीनता र गुण्डाराज मौलाएको बताए। “जताततै अपराध बढिरहेको छ, निहत्था सर्वसाधारणले दिनहुँ ज्यान गुमाइरहेका छन्”- उनले भने। सरकारमा बसेका दलहरुकै संरक्षणका कारण अपराध मौलाएको थापाको आरोप थियो। थापाले कङ्ग्रेस एमालेको गलत निर्णयका कारण शान्ति प्रक्रिया टुङ्गोमा लाग्न नसकेको बताए। “पहिले लडाकु समायोजन गरेर शान्ति प्रक्रिया टुङ्ग्याएर मात्र संविधान सभाको निर्वाचनमा जानुपर्थ्यो”- उनले भने। थापाले संविधान सभाले नयाँ संविधान बनाउन नसक्ने कारण ताजा जनादेशमा जानुको विकल्प नरहेकोसमेत बताए।

No comments: