News

Sep 19, 2011

उपत्यकामा २२ घर भत्कियो, ६८ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २- आइतबार गएको भूकम्पबाट उपत्यकामा २२ वटा घर भत्किएका छन्। महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार सबैभन्दा धेरै भक्तपुरमा १४ वटा घर भत्किएका छन्। काठमाडौंको साँखुमा ५ वटा र स्युचाटारमा २ वटा घर भत्किएको छ भने ललितपुरमा एउटा मात्र घर भत्किएको छ। आयुक्त कार्यालयका प्रवक्ता माधव नेपालका अनुसार भुकम्पवाट ६८ जना घाइते भएका छन्। घाइते हुनेमा ४० जना पुरुष र २८ महिला छन्। घाइते मध्ये ५३ जना उपचारपछि घर फर्किसकेका छन्। १५ जना उपचारको क्रममा रहेका छन् जसमा महिलाको संख्या ३ छ। एसएसपी नेपालका अनुसार भूकम्पका कारण आत्तिएर भाग्ने क्रममा अधिकांश घाइते भएका हुन्। घाइते मध्ये अधिकांशको खुट्टा, हात र ढाड भाँच्चिएको थियो। भूकम्पका कारण भएको भौतिक क्षतिमा परी एक जना मात्र घाइते भएको जानकारी आएको नेपालले बताए।
आइतबार भूकम्पका कारण लाजिम्पाटमा रहेको बेलायती दूतावासको पर्खाल भत्कँदा तीन जनाको मृत्यु भएको थियो। स्कुटरमा रहेका वर्ष ३६ का साजन श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनुजा श्रेष्ठ र बाटोमा हिँडिरहेका वीरबहादुर माझीको मृत्यु भएको थियो। उपत्यकामा त्योबाहेक अन्य मानवीय क्षति भएको विवरण आएको छैन। सिन्धुली मरिमखोलाका माझी चिकित्सक विनिता अधिकारीको घरका कामदार रहेको खुलेको छ। अन्दाजी २० वर्षका उनको पर्खाल ढल्दा टाउकोमा गम्भीर चोट लाग्दा मृत्यु भएको थियो।
बा ९ प २६ ४ठ नम्बरको स्कुटरमा रहेका बाबुछोरी पर्खालको भग्नावशेषमा पुरिएका थिए। उनीहरुको पनि टाउकोमा लागेका गम्भीर चोटका कारण मृत्यु भएको थियो। एसएसपी नेपालका अनुसार भुकम्पका कारण भएको क्षतीको अनुगमन, उद्धार र क्षतीको विवरण संकलनका लागी प्रहरी टोली खटाइएको छ। 'घर भत्किएका स्थानमा भग्नावशेष निकाल्ने, भत्किएको घरको विवरण संकलन गर्ने र घाइतेको अवस्थाबारे बुझ्न प्रहरी टोली खटाएका छौं' उनले भने, 'क्षतिको विवरण आउने क्रम जारी छ।'

No comments: