News

Sep 16, 2011

मोर्चाको दबाबमा प्रधानमन्त्रीले फेरि राज्यमन्त्रीको शपथ समय तोके

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ३० - राज्यमन्त्री नराख्ने पहल गरेका प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसी मोर्चाको दबाबमा फेरि शपथ समय तोकेका छन् । सानो मन्त्रिमण्डल बनाउने अडानमा रहेका प्रधानमन्त्रीले दुईपटक तोकिएको राज्यमन्त्रीको शपथ रोकेका थिए । तर पूर्वसहमति अनुसार मोर्चाले पठाएका राज्यमन्त्रीलाई शपथ गराउनुपर्ने भन्दै उनीमाथि दबाब परेको थियो । 'आइतबार बिहान राज्यमन्त्रीहरुको शपथ हुन्छ,' फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले साँझ भने । उनका अनुसार प्रधानमन्त्रीले शुक्रबार दिउँसो १ बजे शपथ समय तोकेका थिए । प्रधानमन्त्रीले भनेपछि फोरम लोकतान्त्रिकले छानेका चार राज्यमन्त्री सिंहदरवार पुगेका थिए । 'प्रधानमन्त्री संवैधानिक परिषद् बैठकमा हुनुहुन्छ, तर शपथ हुन्छ भनियो,' गृह राज्यमन्त्री सिफारिस गरिएका भीमराज राजवंशीले भने, 'तर माओवादीभित्रै मिल्न सकेन भनेर तीन बजेतिर शपथ स्थगित भएको जानकारी पायौं ।'
प्रधानमन्त्रीले संसद् बैठक सम्बोधनपछि शुक्रबारै राज्यमन्त्रीको शपथ गराउने बताएका थिए । त्यसबेला प्रधानमन्त्रीसँगै दुई उपप्रधानमन्त्री विजयकुमार गच्छदार र नारायणकाजी श्रेष्ठ पनि थिए । बिहीबार र शुक्रबार दुई पटक समय तोक्दै रोक्दै गरेकोमा मोर्चाका नेताहरु प्रधानमन्त्रीसँग कडि्कएका थिए । जवाफमा प्रधानमन्त्रीले सम्भव भए माओवादीसहित र नभए मोर्चाका राज्यमन्त्रीकै भए पनि शपथ गराउन सहमत भएको चौधरीले दाबी गरे । 'शपथका लागि बोलाउँदै, रोक्दै गर्नु राम्रो भएन,' उनले भने, 'तपाईंको पार्टीको मतलव भएन, हामीले पठाएकाहरुलाई शपथ गराउनुपर्‍यो भनेपछि पर्सी (आइतबार) बिहान गरौं न त भन्नुभएको छ ।'मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले नाम पठाएका राज्यमन्त्रीको शपथ बिहीबार साँझ र शुक्रबार दिउँसो १ बजे गरी दुई पटक तोकिएको थियो । तर सानो राज्यमन्त्री नराख्ने सोचमा रहेका प्रधानमन्त्रीले टार्दै आएका थिए ।
'राज्यमन्त्रीको शपथ हुन पनि सक्छ,' प्रधानमन्त्रीका एक सहयोगीले भने, 'तर अहिले पनि उहाँ राज्यमन्त्री नराख्ने नै पहल गर्दैहुनुहुन्छ ।' प्रधानमन्त्रीले यसअघि मोर्चासँग भएका छलफलमा पनि सरकार सानो आकारको बनाउनुपर्ने प्रस्ताव गर्दै आएका थिए । तर पार्टीभित्र मिलाउन गाह्रो हुने भन्दै मोर्चा सम्बद्ध दलहरुले राज्यमन्त्री राख्नुपर्ने दबाब दिंदै आएका छन् । फोरम लोकतान्त्रिकले गृह राज्यमन्त्रीमा भीमराज राजवंशी, रामबच्चन यादवलाई रक्षा, लक्ष्मण मेहतालाई वन र दुर्गादेवी महतोलाई वातावरण राज्यमन्त्री सिफारिस गरेको थियो । स्रोतका अनुसार अन्य मोर्चासम्बद्ध दलहरुले पनि राज्यमन्त्री सिफारिस गरे पनि सार्वजनिक गरेका छैनन् ।

No comments: