News

Sep 26, 2011

मन्त्री अनुगमनमा निस्केपछि व्यापारीहरू भागाभाग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ९ -आन्दोलनको धम्की दिँदै एक वर्षदेखि बजार अनुगमन छल्दै आएका कुलेश्वरका खाद्यान्न व्यापारीहरू आइतबार मन्त्री आफैं आएको देखेपछि सटर बन्द गरेर भागे। वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आइतबार बजार अनुगमन टोलीमा मिसिएर कुलेश्वरका खाद्यान्न थोक पसल पुगेका थिए। तर, उनले दुईवटा बाहेक अरू पसल अनुगमन गर्न पाएनन्। दिउँसो सवा २ बजेतिर मन्त्रीसहितको टोली आउने सुइँको पाएपछि खाद्यान्न थोक केन्द्रका अधिकांश व्यापारी पहिल्यै बन्द गरेर भागिसकेका थिए। खुल्लै रहेका पसलेले पनि टोली देख्नेबित्तिकै सटर ताने। मन्त्री भट्टले 'सबै पसल सिलबन्दी गर्न' निर्देशन दिए पनि टोलीले आफू पुग्दा सटर तानेर भाग्दै गरेका दुईवटा स्टोरमा मात्र सिलबन्दी गर्‍यो। यहाँका पसल खाद्य किराना व्यवसायी संघका पदाधिकारीले सञ्चालन गर्दै आएका हुन्। एक वर्षअघि पनि वाणिज्य विभागको टोली पुग्दा यहाँका व्यापारी यसैगरी सटर बन्द गरेर भागेका थिए। उनीहरूले 'अनुगमन गर्न आए आन्दोलन गर्ने धम्की दिँदै' केही दिन बजार बन्द गरे। थोक बिक्रेताले नै आन्दोलन गरेपछि बजार अभाव हुनसक्ने भन्दै विभागले अनुगमनमा चासो देखाएन। त्यसयता कुनै पनि अनुगमन टोली यो क्षेत्रमा छिरेको थिएन।
'हामी आउँदा पसलेहरू धमाधम सटर बन्द गर्दै थिए,' अनुगमनमा सामेल उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले सडकमा भेटिएको चाबी देखाउँदै भने, 'हतारमा कुनै पसलेले चाबी झारेर हिँडेछ।' उनले उक्त चाबी प्रहरीको जिम्मा लगाइदिए। मन्त्री भट्टले अनुगमन गरेका पसलमा मोहित स्टोर्स र श्यामबाबा इन्टरप्राइजेज छन्। वाणिज्य सचिव पुरुषोत्तम ओझा र वाणिज्य विभागका महानिर्देशक अनिलकुमार ठाकुरले मन्त्रीलाई सघाएका थिए।
विभिन्न उपभोक्तावादी संस्थाका प्रतिनिधि भने बजार यस्तो छ, उस्तो छ भन्दै मन्त्रीसामु गुनासो गरिरहेका थिए। दुवै पसलमा चामल, दाललगायत खाद्यान्न राखेको गोदाम निरीक्षण गरेका भट्टले मूल्य सूची पनि हेरे।
'म त इमानदारलाई प्रोत्साहन र बदमासलाई कारबाही गर्नुपर्छ भनेर अनुगमनमा आएको हुँ,' अनुगमनपछि सरकारी कर्मचारीलाई निर्देशन दिदै उनले भने, 'सबै यसरी भाग्छन् भने सिल गरेर कारबाही अघि बढाउनुस्।' अनुगमनलाई सहयोग गर्नुपर्नेमा तालाबन्दी गरेर व्यापारीहरूले शंका बढाएको उनले बताए।
'हामीले हेरेर सहीलाई सही र गलतलाई गलत भन्ने हो,' भट्टले सञ्चारकर्मीहरूसँग भने, 'गलत काम गर्नेलाई छुट हुँदैन, यसरी भाग्नेलाई पनि कारबाहीको दायरामा ल्याउँछौ।'उनले प्रचारका लागि नभई स्वस्थ बजार प्रवर्द्धन गर्न अनुगमनमा निस्केको बताए। 'हिजो बसपार्क गएर टिकटको बारेमा जानकारी लिएको थिएँ,' उनले भने। भट्टले पहिले जसरी चलेको भएपनि अब बजारमा अनियमितता गर्नेलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। 'हामीले लगानीकर्तालाई निरुत्साहित गर्दैनौं, लगानी गर्नेले नाफा कमाउन पाउँछ,' उनले भने, 'नाफाको बहानामा कालोबजारी गर्नेलाई भने कानुनअनुसार हदैसम्मको कारबाही हुन्छ।'
आफू कुनै पनि व्यावसायीक र राजनीतिक दबाबबाट पछि नहट्ने भट्टले बताए। 'मलाई अहिलेसम्म कतैबाट दबाब आएको छैन,' उनले भने, 'कर्मचारीलाई आए पनि मकहाँ आउनुपर्‍यो, म जुध्छु।' अहिले बजार अनुगमनमा गएका मन्त्री भट्ट यातायात व्यवस्था मन्त्री हुँदा पनि ट्याक्सीको मिटर जाँच्न निस्केका थिए।

दुई पसलमा सिल
मन्त्रीको निर्देशन पाएपछि अनुगमन टोली जाँदाजाँदै भागेको देखिएका दुई पसललाई सिलबन्दी गरेको छ। टोलीले विक्की स्टोर्स र नाम नखुलेको अर्को पसल सिलबन्दी गरेको हो।
दुवै पसलका सञ्चालक नभेटिएपछि प्रहरीको रोहवरमा पसल सिल गरिएको हो। विक्की स्टोरका सञ्चालक विक्की गुप्ता र अर्को पसलका सञ्चालकलाई तीनदिन भित्र वाणिज्य विभागमा उपस्थित हुने पत्र काटेर सिलबन्दी गरिएको हो। अनुगमन टोलीले नाम नखुलेको भनेको पसललाई स्थानीयवासीले भने सन्तोष खेतानको पसल भएको बताएका छन्।

No comments: