News

Aug 25, 2008

प्रमको उच्चस्तरीय भेटघाट शान्ति र विकास चीनको चाहना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छिमेकी राष्ट्र चीनले नेपाललाई शान्ति प्रक्रिया र आर्थिक विकासलाई एकैसाथ अघि बढाउन सुझाव दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ तथा चीनका
समकक्षी बेन जियाबाओबीच आइतबार भएको छुट्टाछुट्टै भेटवार्तामा चिनियाँ नेताहरूले सो सुझाव दिनुभएको हो।आइतबार बेइजिङमा सम्पन्न २९औं गीष्मकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार बेइजिङ पुग्नुभएको थियो।चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेपाल-चीनबीचको सम्बन्धमा नयाँ आयाम शुरू भएको बताउनुभयो। भेटवार्ता संक्षिप्त भए पनि महत्त्वपूर्ण भएको टिप्पणी प्रधानमन्त्री प्रचण्डको थियो।भेटवार्तामा चिनियाँ राष्ट्रपति हुले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीलाई ओलम्पिकको समापन समारोहमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्डको भ्रमणले नेपाल-चीनबीचको सदियौं पुरानो मित्रताको महत्त्व झल्काएको टिप्पणी चिनियाँ राष्ट्रपतिको थियो।व्यस्तताका बाबजुद समय निकाली भेट दिनुभएकोमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसामु कृतज्ञता प्रकट गर्नुभएको थियो। बेइजिङ ओलम्पिक भव्य सफलताका साथ सम्पन्न गरेकोमा प्रधानमन्त्री प्रचण्डले उहाँलाई बधाईसमेत दिनुभएको थियो। बेइजिङ ओलम्पिकले ओलम्पिकको इतिहासमा नयाँ अध्याय थपेको प्रधानमन्त्रीको टिप्पणी थियो।भेटवार्तामा प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने, सामाजिक, आर्थिक विकास गर्ने र नयाँ संविधान निर्माण गर्ने प्रमुख तीन कार्यलाई नयाँ सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो।नेपाल एक चीन नीतिमा कटिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता चिनियाँ राष्ट्रपतिसमक्ष दोहोर्याउनुभएको थियो।नेपालमा व्यापार, लगानी र पर्यटक बढाउन प्रधानमन्त्रीले आग्रह गर्नुभएको थियो। जबाफमा चिनियाँ राष्ट्रपतिले नेपाललाई चिनियाँ सहयोग निरन्तर रहने जनाउँदै जनचाहनाअनुसार नेपालमा शान्ति प्रक्रिया र राजनीतिक विकास भएकोमा खुसी व्यक्त गर्नुभएको थियो।यस्तै चिनियाँ प्रधानमन्त्री जियाबाओले भेटवार्ताका अवसरमा नेपाल चीनको पुरानो मित्र भएकाले नेपाललाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहयोग तथा सहकार्य गर्न चीन तयार रहेको बताउनुभएको थियो।सो अवसरमा दुइ प्रधानमन्त्रीबीच बृहत् सहकार्यका विषयमा छलफल भएको थियो। द्विपक्षीय हितलाई मध्यनजर गर्दै आपसी समझदारीमा दुवै देशका जनताको हितका निम्ति सहकार्य गरिने प्रतिबद्धता दुवै प्रधानमन्त्रीले व्यक्त गर्नुभएको थियो।गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुनुभएकोमा प्रचण्डलाई बधाई दिँदै चिनियाँ समकक्षी जियाबाओले नेपाली जनताले रोजेको सामाजिक प्रणाली र विकासको बाटोलाई चीनले उच्च सम्मान गर्ने बताउनुभएको थियो।नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकास सबै पार्टी सामूहिक प्रयासबाट मात्र सम्भव हुनेमा जोड दिँदै चिनियाँ प्रधानमन्त्री जियाबाओले नेपालसँग विकसित पछिल्लो द्विपक्षीय सम्बन्धबाट चीन सन्तुष्ट रहेको जनाउनुभएको थियो।भेटवार्तामा सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, चीनका लागि नेपाली राजदूत टंक कार्कीलगायत प्रधानमन्त्रीका साथ नेपालबाट गएका प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहेको थियो।
चिनियाँ सहयोग घोषणा
चीनले नेपालका कोसीबाँध पीडितलाई राहतस्वरूप झन्डै २ करोड १० लाख रुपियाँ (३ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ।आइतबार बेइजिङमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी जियाबाओबीच भएको भेटवार्तामा चिनियाँ समकक्षीले सो जानकारी दिनुभएको हो। गएको बिहीबार मात्र चीनले नेपालका बाढीपीडितलाई राहतस्वरूप ३५ लाख रुपियाँ उपलब्ध गराएको थियो।

No comments: