News

Aug 15, 2008

सातायताको लगातार यातायात बन्दका कारण जनजीवन कष्टकर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झन्डै सातायताको लगातार यातायात बन्दका कारण पूर्वी नेपालको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । सहकर्मी हत्याको विरोधमा यातायात मजदुरहरुले पूर्वका मेची, कोसी, सगरमाथा र जनकपुर क्षेत्रमा यातायात बन्द गरेका छन् । लामो तथा छोटो दूरीमा यातायातका साधन नचल्दा हजारौं यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् ।बन्दले यातायात नचल्दा दैनिक उपभोग्य सामग्री ढुवानी हुन पाएको छैन । विभिन्न स्थानमा त्यस्ता सामग्रीको अभाव सुरु भइसकेको छ । यसैगरी पहाडी क्षेत्रमा उत्पादित कृषि उपजहरु बजारसम्म पुग्न नपाएर करोडौंको नोक्सानी भइरहेको छ । ढुवानी समस्याकै कारण सयौं उद्योगहरु प्रभावित बनेका छन् ।धनकुटाबाट राजधानी जाँदै गरेको बसका चालक कृष्ण खवासलाई अज्ञात समूहले हत्या गरेको विरोधमा यातायात मजदुरहरुले बन्द आह्वान गरेका हुन् । स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात चालक संघ, नेपाल यातायता व्यवसायी राष्ट्रिय महासंघ लगायत संगठनहरुले बन्द गरेका हुन् । मारिएको चालकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, बालबालिकालाई पढाइदिनुपर्ने, दोषीमाथि कारबाही हुनुपर्ने अनि सुरक्षा प्रत्याभूति हुनुपर्ने जस्ता माग उनीहरुले अघि सारेका छन् ।

No comments: