News

Aug 23, 2008

एमालेसँग देखिएको बरियता बिबादलाई माओवादी पार्टीले समाधान गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले र माओवादीबीच देखिएको मन्त्रीपरिषदको वरियता बिबाद मिल्ने दावी माओवादी नेता तथा कानुन मन्त्री देव गुरुङले गरेका छन् । कानुन मन्त्री तथा माओवादी सचिवालय सदस्य देव गुरुङले सरकार गठनमा एमालेसँग देखिएको बरियता बिबादलाई आफ्नो पार्टीले समाधान गर्ने बताएका छन् । भदौ ७ गते राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले वरियतामा देखिएको समस्या समाधान गर्न एमालेसँग आफ्नो पार्टीको छलफल जारी रहेको तथा प्राविधिक समस्या समाधान गर्न सकिने उल्लेख गरे । कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलाई भारतले अन्यथा लिनुनहुने तथा चीन भ्रमण गर्नु भारतलाई कम महत्व दिनु नभएको धारणा राखे । प्रधानमन्त्रीको भदौ ७ गतेको सम्वोधन जनआन्दोलन र जनादेशको भावना समेटेको दावी गर्दै गुरुङले प्रधानमन्त्रीको सम्वोधनले मुलुकमा १२ वर्षेदेखि रहेको रिक्तता पूरा भएको पनि बताए । एमालेबाट स्थानीय विकाश मन्त्रीमा प्रस्ताव गरिएका एमाले केन्द्रीय सदस्य रामचन्द्र झाले आफ्नो पार्टीलाई दोश्रो वरियता नदिए सरकारमा नजाने स्पष्ट पारे । मन्त्रीपरिषदमा अर्थ मन्त्री डा. बाबुराम भट्टराईलाई दोश्रो वरियता दिइएको प्रसङ्गमा झाले भने, 'पिएचडी गरेको भनेर भट्टराईलाई दोश्रो वरियता दिइएको होला, राजनीतिमा पिएचडीको त्यति अर्थ हुदैन ।' प्रधानमन्त्रीको चीन भ्रमण र सम्वोधनलाई आफ्नो पार्टीले सकारात्मकरुपमा लिएको पनि झाले कार्यक्रममा उल्लेख गरे । कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेसका महामन्त्री बिमलेन्द्र निधीले प्रधानमन्त्रीको सम्वोधन मिठो भए पनि आफ्नो पार्टी धेरै उत्साहित नभएको बताए । माओवादीले बिगतका सम्झौताहरुलाई कार्यन्वयन नगरेकाले प्रधानमन्त्रीको सम्वोधन पनि कार्यन्वयन हुनेमा शंका ब्यक्त गर्दै निधीले प्रधानमन्त्रीको चीन भ्रमण तेलको समस्या समाधान गर्नका लागि हुनसक्ने सम्भावना ब्यक्त गरे । 'हामीले पनि चीनको भ्रमणलाई अन्यथा लिएका छैनौं' निधीले भने । एकताकेन्द्र मसालका महामन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीको चीन भ्रमणले मुलुकको इतिहासमै नयाँ अध्याय थपेको दावी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणले भारतको हेपाहा र हैकमवादी प्रवृतिलाई चुनौती दिएको उल्लेख गरे । प्रधानमन्त्रीको सम्वोधन सकारात्मक भए पनि त्यो कार्यन्वयन गर्नु चुनौतीपूर्ण रहेको पनि प्रकाशको भनाइ थियो । कार्यक्रमका अर्का वक्ता राष्ट्रिय जनशक्ति पार्टीका नेता डा. प्रकाशशरण लोहनीले प्रधानमन्त्रीको सम्वोधन उचित भए पनि कार्यन्वयन हेर्न बाँकि रहेको धारणा राखे ।

No comments: