News

Aug 25, 2008

प्रा. डा. भट्टराइको उपस्थितीमा लण्डनमा उत्तरआधुनिकवाद अन्तरक्रिया सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम ,सुहिम याक्थुङ, केन्टबाट
गत २२ अगष्ट ०८ को दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायतको आयोजनामा मेरीटाइम ग्रीनवीच कलेज लण्डनमा प्रा. डा. गोविन्दराज भट्टराइको
उपस्थितीमा उत्तरआधुनिकवाद र सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाली साहित्यमा झण्डै २ दशक अघि शुरुवात भएको उत्तरआधुनिक साहित्यले आफ्नो मौलिकपनलाई बचाउदै परिवर्तित समय सापेक्ष विकास र असरलाई स्वीकार गर्नुपर्दछ भन्ने मान्यता राख्दछ । अग्रेजी शब्द पोष्ट मोर्डन शब्दको नेपाली रुपान्तर नै उत्तरआधुनिक भएको हो । आजको आधुनिक भन्दा पनि भोलिको आधुनिकलाई इंगित गर्दै स्वीकार गर्नु उत्तरआधुनिक हो । यस भित्र बहूलता हुन्छ र नयाँनयाँ प्रकृतिका साहित्यलाई समेत यसले मान्यता प्रदान गर्दछ । वास्तवमै उत्तरआधुनिक साहित्य भनेको ब्यापकता, विविधता हो । अब साहित्यलाई हेर्ने नयाँ दृष्टिकोणको आवश्यकता महशुस गर्नु हो । उत्तरआधुनिक साहित्यले डायस्पोरा, साइवर जगत, युद्ध र द्धन्द्ध, जनजाति, नारी, बाल जगत, प्रकृति तथा सिमान्तकृत बर्ग समुह र ब्यक्ति जस्ता विभिन्न विषय र क्षेत्रलाई समेट्नु पर्दछ । साहित्यमा नयाँ केन्द्रहरुको उदय भइरहेको छ । यो विश्व साहित्यको वर्तमान प्रवृतिले र ग्लोबल परिस्थितिले ल्याएको तिब्र परिवर्तनको परिणाम हो । यसले हरेक विचारको सिद्धान्तको लेखन शैलि र विषयबस्तुको विकल्प खोज्दछ । त्यसैले गर्दा नेपाली साहित्यमा पनि अनेक प्रकारका प्रयोग, आन्दोलन र नविनताहरु थपिन्दैछन् । राष्ट्रिय साहित्यले यी सबै कुराको मूल्याङ्कन र अभिलेखन गर्नु पर्दछ भन्ने उत्तरआधुनिकवादले मान्यता राख्दछ ।
उत्तरआधुनिकबादको विषयमा साहित्यकार जगत नवोदित र गोपि प्रसाइले आ-आफ्नो धारणाहरु प्रस्तुत गर्नुभएपछि उत्तरआधुनिकबादका अगुवा आमन्त्रित प्रा. डा. भट्टराइले विस्तारमा आफ्नो विचार राख्दै प्रष्ट पार्नुभएको थियो । प्रश्नउत्तरको कार्यक्रममा धेरै स्रष्टार्सजकहरुको सहभागिता रहेको थियो । स्मरण रहोस उत्तरआधुनिक ऐना पुस्तकमा प्रा. डा. भट्टराइले नयाँ दृष्टिकोणले नेपाली साहित्यको ब्याख्या र विश्लेषण गरेका छन् । उक्त पुस्तकलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले उत्कृष्ट कृति पुरस्कार २००६ को रुपमा पुरस्कृत गरेको थियो भने हालै वहाको नेपाली समालोचनाको क्षेत्रमा सबैभन्दा ठूलो ग्रन्थ ७०५ पृष्ठको उत्तरआधुनिक विमर्श हालै प्रकाशित भएको छ ।
कार्यक्रमको शुरुमा अनेसास वेलायतका अध्यक्ष हरि शिवाकोटि र नेपाली दुतावासका प्रतिनिधि श्रीमती निला अधिकारीले आमन्त्रित प्रमुख अतिथि प्रा. डा. भट्टराइलाई खादा ओढाउनुको साथै सम्मान पत्र प्रदान
गर्नुभएको थियो । वेलायतमा रहेका लेखक तथा साहित्यकारहरुको उत्साहजनक उपस्थिती रहेको सो कार्यक्रममा वयोबृद्ध साहित्यकार धनाहाँङ सुब्बा, मंजु विमली, मिजास तेम्बे लगायतले आ-आफ्नो सिर्जना बाचन गरेका थिए । कार्यक्रमलाई महासचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए भने गोर्खा एक्सिलेन्सि लिमिटेड र भट्टराइ एण्ड कम्पनी इमिगेशन प्राक्टिस सेन्टरले खाजा नास्ताको ब्यवस्था गरेको थियो ।

सुहिम याक्थुङ, केन्टबाट

No comments: