News

Aug 24, 2008

बाढीले बगाएका दर्जनौं शवहरु भारतको बिहारमा फेला परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसीको बाँध फुटेर आएको बाढीले बगाएका दर्जनौं शवहरु भारतको बिहारमा फेला परेका छन् । ती शव नेपालतर्फबाट बगेर गएका हुन् वा बिहारकै गाउँका स्थानीय बासिन्दाको हो भन्ने चाहिँ यकिन भएको छैन । कोसी तटबन्ध निरीक्षणका लागि सुनसरी पुगेका भारतीय अधिकारीहरुले यस्तो जानकारी दिएका हुन् । नेपालतर्फ कोसीको बाँध फुटेपछि हालसम्म एकजनाको मात्र शव भेटिएको छ । अन्य मृत्युको पुष्टि नभए पनि केही मानिस हराइरहेको अनुमान गरिएको छ ।निरीक्षणका लागि आएको भारतीय प्रतिनिधिमण्डलका सिँचाइ इन्जिनियर वीरेन्द्र प्रसादले स्थानीय सञ्चारकर्मीलाई बताए अनुसार शव फेला परेका छन् तर ती नेपालीका शव हुन् वा भारतीयको भन्ने पुष्टि भइसकेको छैन । कोसीको बाढी नेपाली गाउँ हुँदै बिहारका सहरसा, सुपौल, पूर्णिया लगायतका गाउँमा पनि पुगेको छ । यसले गर्दा त्यहाँ पनि क्षति भएको छ । भारतीय अधिकारीहरुका अनुसार लाखौं स्थानीय बासिन्दा प्रभावित भएका छन् ।भारतमा शव भेटिएको खबर आएपछि नेपाली पक्षले सोधखोज सुरु गर्ने भएको छ । नेपाली गाउँका हराइरहेकाहरु परिवारको समपर्कमा आए, नआएको अनि कति जना बेपत्ता रहेको जस्ता तथ्यांक खोजी गर्ने काम सुनसरी प्रशासनले गरेको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीका अनुसार विस्थापितहरुको लगत राख्ने काम समेत भइरहेको छ । गत सोमबार कोसीको बाँध फुटेर नदी गाउँ हुँदै बग्न थालेपछि सुनसरीका श्रीपुर, हरिपुर, पश्चिम कुसाहा र लौकही लगायत गाउँका हजारौं विस्थापित भएका छन् ।

No comments: