News

Nov 26, 2008

सुरक्षाकर्मीको पोसाक लगाएर सीमा क्षेत्रमा ठगी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुरक्षाकर्मीको पोसाक लगाएर सीमा क्षेत्रमा ठगी गर्ने नक्कली प्रहरीलाई सक्कली प्रहरीले स्यालुट गर्ने गरेका छन् । नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको पोसाक लगाएर ठग्ने क्रम बढेको छ । ती ठगले नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको पोसाक लगाउने गरेका छन् । ठग्दै हिँड्ने समूहले आफूलाई घुमुवा प्रहरी भएको भन्ने गरेका छन् । तिनै ठग नक्कली प्रहरीलाई सीमा गस्तीमा निस्केका सक्कली प्रहरीले पनि झुक्किएर स्यालुट गर्ने गरेका हुन् । सुरक्षाकर्मीको पोसाक लगाएर सीमा क्षेत्रमा ठगी गर्नेहरूबाट प्रहरीहरू आजित भएका छन् । नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन लगाइने पोसाक लगाएर लुटपाट, ठगी र सीमाबाट अवैध कारोबार हुन थालेपछि सक्कली प्रहरी आजित भएका हुन् । बाँकेको प्रमुख व्यापारिक नाका जमुनाहामा सुरक्षाकर्मीको पोसाक लगाएर अवैध सामान सीमा वारपार गराउनेको चहलपहल बढेको छ । यस्ता नक्कली प्रहरीले सीमावर्ती बजार रुपैडिहामा पुगेरसमेत ठग्ने गरेका छन् । सीमा क्ष्ाेत्रमा देखिने उनीहरूलाई सक्कली प्रहरीले झुक्किएर स्यालुट गर्ने गरेको प्रहरी सहायक निरीक्षक कृष्ण गौतमले बताए । 'टाढैबाट सा'ब जय नेपाल' भन्दै स्यालुट गर्छन् र हात मिलाउन आइपुग्छन्, छुट्याउनै गाह्रो हुन्छ ।' अर्को ठाउँबाट गस्तीका क्रममा आएका आफ्नौ साथीहरू भएको हुन् कि भनेर प्रहरीहरू झुक्किने गरेको बताउँदै गौतमले भने, 'झुक्किएर हाम्रा केटाहरूले पनि उनीहरूलाई स्यालुट गर्छन् ।' सीमामा रहेको जमुनाहा प्रहरी चौकीको एक टोलीले हालै ठगहरूबाट सुरक्षाकर्मीको पोसाक बरामद गरेको छ । सहायक निरीक्षक गौतम भन्छन्, '१५ जनाको साथबाट पोसाक खोसेको छु ।' यसरी पोसाक लगाएर ठग्नेहरूले बजारमा किन्न पाइने दर्जाअनुसारको फुली लगाएको उनले बताए । उनका अनुसार सुरक्षाकर्मीको पोसाक लगाउने कतिपयले अन्जानमा लगाएको र कतिपयले लगाउन पाउनुपर्ने अडान लिएका छन् । 'अडान लिनेलाई कट्टु मात्र बाँकी राखेर नांगै पठाएको छु,' गौतमले भने । केही ठगहरूलाई पनि कारबाही गरिएको उनको भनाइ छ । बजारमा कमै किन्न पाइने भए पनि कतैबाट ल्याएर लगाएकाहरूलाई केही कारबाही नभएकाले सुरक्षाकर्मीको पोसाक दुरुपयोग भएको प्रहरीले बताएका छन् । पोसाक लगाउनेलाई कारबाही गर्ने आदेश नभएकाले त्यस्तै पोसाक लगाउने ठगहरूलाई नियन्त्रण गर्न पनि बाधा पुगेको गौतमले बताए । 'पोसाकको यसरी दुरुपयोग गर्नेलाईर् माथिबाट कारबाही गर्ने अधिकार दिनुपर्छ,' सीमामा अवैध सामान ओसारपसार गर्ने त्यस्ता नक्कली सुरक्षाकर्मीलाई पक्राउ गर्ने गरेको जनाउँदै उनले भने, 'माथिबाट आदेश आयो भने पक्रेकालाई कारबाहीका लागि पठाउन सकिन्छ ।' यसअघि सुरक्षाकर्मीको पोसाक लगाएर ठग्नेहरूलाई पक्राउ गरे पनि अधिकार नभएकाले अधिकांशलाई पोसाक मात्र खोलेर छाडिएको जमुनाहा प्रहरी कार्यालयले जनाएको छ । पोसाक दुरुपयोग गर्नेहरूले प्रहरी, आफन्त तथा साथीहरूसँग मागेर लगाउने गरेका छन् । केहीले भने धोएर सुकाएको बेला चोरेर लैजाने गरेको प्रहरीस्रोतले जनाएको छ । स्रोतका अनुसार गत वर्ष बाँकेको शम्शेरगन्जमा बससहित यात्रु लुटेको समूहले प्रहरीको पोसाक लगाएको थियो । सो समूहमा संलग्न कोहलपुरका एकजनाले आफ्नै काकाको प्रहरी पोसाक लगाएको थिए । मुलुकी ऐनमा नपाएको पगरी, भ्रष्टाचार र ठगीअनुसार सुरक्षाकर्मीको पोसाक लगाउनेमाथि मुद्दा चलाउन सकिने प्रावधान छ । सो प्रावधानअनुसार नपाएको पगरी पाएको भन्नेलाई पाँच हजार जरिवाना, ठगीमा पाँच वर्षसम्म कैद र भ्रष्टाचार मुद्दामा सामान्य कैददेखि दुई वर्षसम्म कैद सजाय तोकिएको छ । तर, आदेश नभएको भन्दै पोसाकसहित समातेका नक्कली प्रहरीलाई सक्कली प्रहरीको कार्यालयले कारबाही नै नगरी छाड्ने गरेको छ ।

No comments: