News

Nov 28, 2008

प्रहरीले जाहेरी दर्ता गर्न मानेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अरबीको सामूहिक बलात्कारपछि साउदी अरबबाट गर्भ बोकेर फर्किएकी सुनसरीकी १९ वषीया युवतीलाई साउदी पुर्‍याउने दलालविरुद्ध जाहेरी दर्ता गर्न गएका पीडितलाई जिल्ला प्रहरी कार्यालयले त्यसै फर्काइदिएको छ ।दलालले किर्ते नागरिकता र राहदानी बनाएर ६ महिनाअघि साउदी पुर्‍याएकी अञ्जु अरबी घर-मालिकको गर्भ बोकेर पाँच दिनअघि मात्र घर र्फकेको समाचार नयाँ पत्रिकाले बिहीबार प्रकाशित गरेको थियो । बिहीबार मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका पीडित युवतीका परिवारलाई समयाभाव भन्दै प्रहरीले जाहेरी दर्ता नगरी फर्काइदिएको हो । पीडित अञ्जु मुसहर (नाम परिर्वतन) बुबा-आमालाई लिएर समयमै प्रहरी कार्यालय पुगे पनि प्रहरीले अनेक बहाना बनाएर जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो । शुक्रबार मात्र जाहेरी दर्ता गर्ने भन्दै प्रहरीले फर्काइदिएको पीडितका कानुनी सहयोगी ओरेक सुनसरीका प्रमुख विनोद चौधरीले बताए । पीडितका तर्फबाट बुधबार नै जाहेरी दर्खास्त लेखेर दर्ताका लागि जिल्ला प्रहरी कार्यालय पुगेको, तर प्रहरीले 'धेरै कुरा बुझ्न बाँकी छ' भन्दै बिहीबार बिहान १० बजे बोलाएको उनले बताए । प्रहरीकै सल्लाहअनुसार सबैजना जाहेरी दर्खास्त लिएर दर्ताका लागि जिल्ला प्रहरी कार्यालयपरिसर जाँदा अनेकौं बहानाबाजी बनाएर प्रहरीले जाहेरी दर्ता नगरेको पीडित किशोरीका बुबा धर्मे सदा (मुसहर) ले बताए । पक्राउ परेकालाई छुटाउन र पक्राउ नपरेकालाई भगाउनतर्फ प्रहरी नै लागेको आरोप अञ्जुका बुबाले लगाएका छन् । अञ्जुलाई साउदी लगेर बिक्री गर्ने गिरोहका नाइके मीना (सम्झना) खड्का इटहरीको मुख्य चोकमा घुमिरहेको तर प्रहरीले पक्राउ नगरेको मानवअधिकारकर्मी भेषराज पोखरेलले बताए । इटहरी-४ की मीना इटहरीमा घुमिरहेको नयाँ पत्रिकाका संवाददाताले समेत फेला पारेको थियो । नयाँ पत्रिकाका संवाददातालाई देख्नासाथ उनी एकाएक बेपत्ता भएकी थिइन् । ओरेकका विनोद चौधरीले सुनसरी प्रहरीले महिला हिंसा र पीडाका घटनामा सधैं जाहेरी दर्ता नगर्ने र संलग्नसँग मिलेर पीडितलाई थप पीडा दिने गरेको आरोप लगाएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले पीडितहरू जाहेरी लिएर समय सकिइसकेपछि आएकाले दर्ता नभएको बताएका छन् ।

No comments: