News

Nov 25, 2008

सभासद् सञ्जयकुमार साहलाई पक्राउ गरी २० मिनेटपछि रिहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरीलाई अपहरण गरेको आरोपमा मुछिएका मधेसी जनअधिकार फोरमका धनुषा जिल्ला अध्यक्ष एवम् सभासद् सञ्जयकुमार साहलाई प्रहरीले पक्राउ गरी २० मिनेटपछि रिहा गरेको छ। जनकपुर बन्द घोषणाप्रहरीले आफनो चरित्र हत्या गर्न खोजेको भन्दै सोमबार बिहान पार्टी कार्यालयबाट जुलुससहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेका सभासद् साहलाई प्रहरीले लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो।प्रहरीले सभासद् साहलाई नियन्त्रणमा लिई फोरमका कार्यकर्तामाथि लाठी चार्ज गरेको थियो। प्रहरीको लाठी चार्जबाट सभासद् साहसहित १६ जना कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेहरूमा फोरमका केन्द्रीय सदस्य रत्नेश्वरलाल गोइत, महाशंकर ठाकुर, पवन झा, रुबी मिश्र, नगेन्द्र मण्डल, सुमित्रा देवी, विजय मस्त, सुनैना देवी, लरुवती देवी, सीताराम मुखिया, राजनारायण यादव तथा सभासद् साहका सुरक्षागार्ड प्रमोद साह रहेका छन्।प्रहरीले सभासद् साहलाई नियन्त्रणबाट मुक्त गरेपछि उनीसहित फोरमका कार्यकर्ता जिल्ला प्रशासन कार्यालयनजिक धर्नामा बसेका थिए। जनकपुर बजारसमेत बन्द गराएका उनीहरूले नगरको विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए।प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले सभासद् साहको उपस्थितिमा सुरक्षाकर्मीलाई अपहरण गर्न खोजिएको दाबी गर्नुभएको थियो।उहाँले सभासद्सहितको टोली एक्कासि आफनो कार्यालयमा आक्रमणको शैलीमा आएका कारण स्थितिलाई नियन्त्रणमा लिनका लागि सामान्य बल प्रयोग गरिएको बताउनुभयो। उहाँले सादा पोसाकमा परिचालन गरिएका प्रहरीबाट गल्तीहरू हुने गरेको बताउँदै त्यस्ता कार्यलाई सुधार गर्नका लागि स्थानीय सुरक्षा निकाय समीक्षा गर्ने कार्यमा जुटिसकेको बताउनुभयो। यता जिल्ला सुरक्षा समितिले सभासद् साहको सुरक्षाका लागि उपलब्ध गराएका सुरक्षा गार्ड प्रमोद साहले प्रहरीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा कुनै सत्यता नरहेको जनाएको छ।यसैबीच सभासद् साहले सोमबार पत्रकार सम्मेलन आयोजना गरी एमालेका नेता रघुवीर महासेठको दबाबमा प्रहरीले आफना विरुद्ध मिथ्या आरोप लगाएको बताउनुभयो। घुमुवा प्रहरीहरू तर्राईमा सक्रिय सशस्त्र समूहहरूसँग मिलेर चन्दा, अपहरणजस्ता क्रियाकलापमा लिप्त रहेको आरोप लगाउँदै साहले आफूमाथि लगाइएको आरोप कपोलकल्पित हुनुका साथै राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले योजनाबद्ध रूपले गरिएको दुष्प्रयास भएको बताउनुभयो। साहमाथि आइतबार राति प्रहरी हबलदार जयलालप्रसाद यादव र जवान अवधेशप्रसाद यादवलाई अपहरणको प्रयास गरेको आरोप लगाइएको छ। केही समयअघि डाका मुद्दामा पक्राउ गरिएका व्यक्ति आफनो मान्छे रहेको भन्दै प्रहरीलाई सभासद् साहले अपहरणको प्रयास गरेको आरोप प्रहरीको रहेको छ। घटनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीले कुनै काम नगरी विरोध जनाएका छन्। उनीहरूले घटनामा संलग्न रहेका सभासद् साहलाई कारबाही गरिनुपर्ने माग गरेका छन्। रातिदेखि नै नगरमा तैनाथ गरिएका सुरक्षा गस्ती खुकुलो बनाइएको थियो। जनकपुरस्थित सुरक्षा बिटमा खटिएका प्रहरीहरूले रातिदेखि नै जिल्ला प्रहरी कार्यालय, धनुषामा गई हडताल गरेका हुन्। प्रहरीहरूले प्रहरी कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। सोही घटनाको विरोधमा मधेसी जनअधिकार फोरमले विभिन्न माग राख्दै मंगलबारदेखि अनिश्चितकालीन जनकपुर बन्दको घोषणा गरेको छ।फोरमका जिल्ला सचिव गजाधर यादवद्वारा जारी विज्ञप्तिमा कार्यकर्ताहरूमाथि लगाइएको मुद्दा फिर्ता, गिरफतार कार्यकर्ताहरूको रिहाइ, सभासद् साहमाथि लगाइएको आरोपप्रति क्षमायाचना, प्रहरी इन्स्पेक्टर र सशस्त्रका डीएसपीमाथि कारबाही नभएसम्म बन्द घोषणा गरिएको जनाइएको छ।

No comments: