News

Nov 20, 2008

पूर्वसुरक्षाकर्मीहरूले पुनर्बहालीको माग गर्दै आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
द्वन्द्वका क्रममा जागिर छोडेका सुरक्षाकर्मीहरूले पुनर्बहालीको माग गर्दै आन्दोलन गरेका छन् । जागिर छोड्न बाध्य पार्ने उतिबेलाको सशस्त्र विद्रोही माओवादी सत्तामा पुगे पनि माग पूरा नभएकोमा उनीहरूले आक्रोश पोखेका छन् । मध्यपश्चिमका विभिन्न जिल्लाबाट वीरेन्द्रनगर आएका पूर्वसुरक्षाकर्मीहरूले पुनर्बहालीका साथै जागिर छोडेदेखि हालसम्मको तलबभत्ताको माग गरेका छन् । साहारे घर भएका नेपाली सेनाका पूर्वसिपाही डोलेन्द्र साहले माओवादीका कारण जागिर छोडेको बताए । घरमा बाबुलाई 'छोरालाई सेनाबाट फिर्ता नल्याए मार्छु' भन्ने धम्की दिएपछि आफूले जागिर छोडेको उनको भनाइ छ । आफूलाई जागिरबाट छुटाउनकै लागि माओवादीले घरखेत कब्जा गरेको पनि उनको दाबी छ । सुर्खेत, भैरवस्थानका बलराम गौतमले आफू सत्तामा गएपछि जागिर पुनर्बहाली गरिदिने आश्वासन दिएर माओवादीले जागिर छुटाएको बताए । उनले भने, 'उनीहरूको मीठो आश्वासनले मैले पेन्सनको मुखैमा खाईपाई आएको जागिर छोडेँ, अब त उनीहरूले युद्धकालमा हामीलाई दिएका वाचा पूरा गर्नुपर्‍यो नि ।' ०५७ चैतमा जागिर छोडेका उनको चार वर्षपछि पेन्सन पाक्दै थियो । आन्दोलनका लागि मध्यपश्चिमका विभिन्न जिल्लाबाट आएका पूर्वसुरक्षाकर्मीले माओवादीबाट घरपरिवारमाथि खतरा भएपछि जागिर छोड्नुपरेको जिकिर गरेका छन् । आन्दोलनको नेतृत्व गरेका सशस्त्र प्रहरीका पूर्वहबल्दार प्रेमबहादुर रानाले माओवादी नेतृत्वको सरकारले समयमै माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । उनका अनुसार मध्यपश्चिममा मात्र द्वन्द्वका बेला करिब दुई हजार सुरक्षाकर्मीले जागिर छोडेका थिए ।

No comments: