News

Nov 21, 2008

एसपीको श्रीमतीका कपडा धुन्छन् प्रहरी जवान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सामान्यतः सुरक्षाकर्मी राष्ट्रसेवाको काम गर्छन् । तर, सशस्त्र प्रहरीका एक जवान हाकिमको श्रीमतीका कपडा र बालबालिका स्याहार्न बाध्य छन् । सीमा-सुरक्षाबल महेन्द्रनगर कञ्चनपुरका प्रहरी जवान चन्द्र दाहाल विगत चार महिनादेखि हाकिमको घरमा बसेर काम गर्दै आएका छन् । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र शाक्यको इटहरी नगरपालिका-५ स्थित घरमा दाहालले काम गर्दै आएका हुन् । शाक्य सीमा-सुरक्षाबल महेन्द्रनगरमा कार्यरत हुन् । सशस्त्र प्रहरीमा अर्दली (नोकर) राख्ने कानुनी व्यवस्था नभएको सशस्त्र प्रहरी पूर्वाञ्चल मुख्यालय बराह बाहिनी पकलीले जनाएको छ । तर, ख्ाोटाङ घर भएका प्रहरी जवान दाहालले उपरीक्षक शाक्यको निर्देशनमा घरमा 'नोकर'को काम गर्न बाध्य छन् । जवान दाहालले हाकिमका घरका सबैको स्याहार गर्नुपर्छ । घर सरसफाइ गर्नुपर्छ । ब्याग, पानी बोकेर शाक्यका एक छोरा र छोरीलाई स्कुलबससम्म पुर्‍याउने र ल्याउने गर्नुपर्छ । 'हाकिम्नी'सहित सबैको लुगा धुनुपर्छ । इटहरीकै पिसजोन बोर्डिङ स्कुलको बसमा चढाउन शाक्यका छोराछोरीलाई लैजाँदै गर्दा बिहीबार भेटिएका दाहालले प्रहरी उपरीक्षक शाक्य आप\mनो हाकिम भएकाले उनकै आदेशअनुसार कामदारका रूपमा घरमा बसेको बताए । बिहान पाँच बजे उठेर घरको काममा व्यस्त हुनुपर्ने बताउँदै दाहालले राति १० बजेसम्म काम गर्नुपर्ने दुःखेसो सुनाए । उनका अनुसार यसबीचमा घर सरसफाइ, बिहान-बेलुका खाना पकाउने, भाँडा माझ्नेदेखि शाक्यकी श्रीमतीको पेटिकोट, साडी, छोराछोरीको कपडा धुनुपर्छ । शाक्यको घरमा एउटा सेतो रङको बेलाइती कुकुर छ । हाकिम दम्पतीले खुब माया गर्ने त्यो कुकुरलाई बिहान र बेलुका एक/एक घन्टासम्म राजमार्गमा दौडाएर ल्याउने काम पनि आपनै भएको दाहालले बताए । प्रहरी उपरीक्षक घरमा आएको बेला उनको र सधैँ छोराछोरीको जुत्तामा पोलिस पनि उनैले गर्दै आएका छन् । शाक्यको घरको सबै काम गरे पनि उनले अतिरिक्त तलब-भत्ता पाउँदैनन् । बस्ने र खानेबाहेक पारिश्रमिक केही नपाएको उनले बताए । 'मेरो दरबन्दी कन्चनपुरमा हो । त्यहीँबाट आउने पारिश्रमिकबाहेक अरू केही हुँदैन,' जवान दाहालले भने । आफूलाई सुरक्षाबलको कार्यालयमै बसेर ड्युटी गर्ने चाहना भए पनि उपरीक्षक शाक्यको दबाबमा घरमा बस्नुपरेको उनको गुनासो छ । ११ वर्षअघि सशस्त्र प्रहरीमा सेवा प्रवेश गरेका उनी भन्छन्, 'मलाई आप\mनो दरबन्दी रहेकै स्थानमा जान मन छ, तर हाकिम साबको निर्देशनअनुसार चल्नै पर्‍यो ।' घरपरिवार सबैको सेवाका साथै 'हाकिम्नी'को लुगा धुनुपरे पनि आफूहरूका बारे कसैले नबोलिदिने र भनेमा जागिर जाने सम्भावना रहने जवान दाहालले बताए । उनले भने, 'हामी तल्ला तहका कर्मचारीको पीडा कसले सुन्ने ? यो कुरा कतै आयो र भन्यो भने मेरो जागिर खान सक्छन् ।' कार्यालयमा एसपीको सेवा गरे पनि घरमा काम गर्न सकस भएको भन्दै उनले बाध्यतामा काम गर्नुपरेको बताए । सशस्त्र प्रहरी पूर्वाञ्चल मुख्यालय बराह बाहिनी पकलीका प्रमुख तथा डिआइजी कृष्णकुमार तामाङले सशस्त्र प्रहरीमा अर्दली (नोकर) राख्ने कानुनी व्यवस्था नरहेको बताए । अर्दलीकै रूपमा शाक्यले दाहाललाई घरमा राख्नु कानुनको उल्लंघन भएको तामाङको भनाइ छ । दाहाललाई घरमा राखेर जे पायो त्यही काम लगाउनु अन्याय भएको उनले बताए । उनका अनुसार कार्यालयभित्र भने दरबन्दीअनुसार सहायक उपलब्ध हुन्छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले कानुनमा व्यवस्था नभएका कारण प्रहरी उपरीक्षक शाक्यले एक जवानलाई घरमा राखेर काम लगाउनु न्यायसंगत नभएको बताए । शाक्यलाई प्रहरी संगठनकै निकायले छानबिन गरी कारबाही गर्नुपर्ने उनको भनाइ छ । दाहाललाई घरको काममा लगाउने शाक्यसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । सीमा-सुरक्षाबल महेन्द्रनगर कञ्चनपुरको टेलिफोन नम्बर ०८१-५२११०१ मा बिहीबार पटक-पटक सम्पर्क गर्दा टेलिफोन उठेन ।

No comments: