News

Nov 26, 2008

स्वदेशफिर्तीको पहल गरिदिन भुटानी शरणार्थीले आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स-सम्मान स्वदेशफिर्तीको पहल गरिदिन भुटानी शरणार्थीले भारत सरकारसँग आग्रह गरेका छन् । भारतीय विदेशमन्त्री प्रणव मुखर्जीको नेपाल भ्रमणको अवसर पारेर शरणार्थीले सहयोगका लागि भारतसँग आग्रह गरेका हुन् । संयुक्त भुटानी स्वदेशफिर्ती परिषद्ले मंगलबार पूर्वीर् नाका काँकरभिट्टामा प्रदर्शन गर्दै स्वदेश फिर्तीका लागि बाटो दिन भारत सरकारसँग अनुरोध गरेको छ । प्रदर्शनपछि आयोजित कार्यक्रममा बोल्दै भुटान मानव अधिकार संगठनका अध्यक्ष एसबी सुब्बाले भारतीय सहयोगविना शरणार्थी समस्याको समाधान नहुने बताए । प्रदर्शनका क्रममा शरणार्थीले नेपाल र भुटानबीचको द्विपक्षीय वार्तामा शरणार्थी प्रतिनिधिलाई सहभागी गराउनुपर्ने माग राखे । यसअघि स्वदेशफिर्तीको माग गर्दै नारा जुलुससहित नेपाल-भारत सीमाको मेचीपुल पुगेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाको निर्देशनमा प्रहरीले उनीहरूलाई पुनः काँकरभिट्टा फर्काइएको छ । सीमावर्ती क्षेत्रमा अपि्रय घटना हुनसक्ने भएकाले शरणार्थी गतिविधिमाथि कडाइ गरिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण हमालले बताए । १५ जेठ २०६४ मा स्वदेशफिर्तीका लागि मेचीपुलबाट शरणार्थीले सुरु गरेको लङमार्चका क्रममा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर शरणार्थी युवक सहबहादुर सिवाको मृत्यु भएपछि सीमावर्ती क्षेत्रमा शरणार्थी गतिविधिप्रति दुवै देशले कडाइ गर्दै आएका छन् । शरणार्थीले मंगलबार प्रदर्शन गर्न लागेको जानकारी पाएपछि मेचीपुल र आसपासका क्षेत्रमा हतियारसहित भारतीय सुरक्षाकर्मी परिचालित थिए । शरणार्थीका क्रियाकलापमाथि भारतीय पक्षले अघिल्लै दिनदेखि निगरानी बढाएको थियो । राज्य सरकारको निर्देशनमा सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

No comments: