News

Nov 15, 2008

अर्को बर्षको जेठ १४ मा नयाँ संविधान घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा बैठकले संविधानसभा नियमावलीलाई शुक्रबार पारित गरेपछि बहुप्रतीक्षित संविधान निर्माणको बाटो खुला भएको छ। संविधानसभा नियमावली र कार्यविभाजन पारित भएपछि अब ८२ हप्ताभित्र संविधान निर्माण पूरा गर्ने कार्ययोजनासमेत बनेको छ।संविधानसभा नियमावली मस्यौदा समितिका संयोजक नारायणमान विजुक्छेले प्रस्तुत गर्नुभएको नियमावली पारित गरियोस् भन्ने प्रस्तावलाई संविधानसभाले शुक्रबार पारित गरेको थियो। बैठकले सभासद् चित्रबहादुर केसी र विश्वेन्द्र पासवानले प्रस्तुत गरेको संशोधन प्रस्तावलाई अस्वीकार गरेको थियो।संविधानसभामा ³वीप जारी गर्ने या नगर्ने भन्ने विषयमा लामो समयदेखि प्रमुख दल र साना दलहरूबीच विवाद भएर नियमावली अड्किँदा नियमावली बन्नमा ढिलाइ भएको थियो। बैठकले व्यवस्थापिका नियमावली पनि पारित गरेको छ।संविधानसभामार्फ नयाँ संविधान मस्यौदा बनाउने क्रममा एउटा संवैधानिक समिति हुनेछन् भने अन्य १० वटा विषयगत र तीनवटा प्रश्ाासनिक समिति गठन हुनेछन्। विषयगत समितिले तयार गरेका विषयलाई संवैधानिक समितिले अन्तिम रूप दिएपछि राष्ट्रिय सहमतिका आधारमा २०६७ साल जेठ १४ गते नयाँ संविधान घोषणा गर्ने कार्यतालिका बनेको छ। संविधानसभालाई दुइ वर्षभत्र संविधान निर्माण गर्ने समयसीमा तोकिएकोमा सो समयसीमा २०६७ जेठ १४ मा समाप्त हुँदै छ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभा कार्यव्यवस्थामा कार्ययोजना मस्यौदा प्रस्तुत गर्नुभएकोमा सुझावसहित पारित भएको थियो।मंसिर १ बाट नयाँ संविधान निर्माणको प्रक्रिया शुरू हुनेछ र यस क्रममा संविधानसभाका उपाध्यक्षको चयन पनि आगामी दुइ हप्ताभित्र गर्ने योजना संविधानसभा सचिवालयले बनाएको छ। अब संविधान निर्माणमा आफनो ध्यान केन्द्रित गर्न जारी रहेको व्यवस्थापिका-संसद्को बैठकलाई भने स्थगित गरिने भएको छ।कार्यव्यवस्थाले तय गरेको कार्यतालिकामा मंसिरको दोस्रो सातादेखि मसान्तसम्म संविधानसभाका समितिहरूको गठन गर्ने, समितिका सभापतिको निर्वाचन गर्ने तथा संविधान निर्माणमा आवश्यक विशेषज्ञ सेवाको क्षेत्र पहिचान गरी सोको विस्तृत विवरण बनाउने उल्लेख छ। यसै गरी मंसिर मसान्तभित्र व्यवस्थापिका-संसद्का समितिको पनि गठन गर्ने संविधानसभा कार्यसूचीमा उल्लेख छ। पुस १ देखि १५ सम्ममा प्रत्येक समितिले आफनो कार्यक्षेत्रभित्र पर्ने विषय र सोअर्न्तर्गत सञ्चालन हुने गतिविधिको तालिका बनाई नागरिक शिक्षा, तालिम तथा अभिमुखीकरण कार्यक्रमको शुरुवात गर्नेछन्। नयाँ संविधानको अवधारणामाथि छलफल, विचार-विमर्श, नागरिक समाज, विशेषज्ञ र आम नागरिकबाट रायसुझाव संकलन कार्य भने पुस १५ देखि सात हप्तासम्म सञ्चालन हुने भएको छ। सुझावहरू संकलन भइसकेपछि संविधान प्रारम्भिक मस्यौदा फागुन-चैतभित्र तयार गर्ने र वैशाख र जेठ महिनाभरि संविधानसभामा छलफल गर्ने पनि कार्ययोजना बनेको छ। सबै सुझाव र विषयगत सुझावहरू आएपछि मस्यौदालाई एकीकृत गरी नयाँ संविधानको पहिलो मस्यौदा साउन महिनामा तयार गर्ने पनि कार्ययोजना रहेको छ। भदौमा पहिलो मस्यौदा संविधानसभाको पूर्ण बैठकमा पेस गरी एक महिनाभर छलफल हुने, संविधानको पहिलो मस्यौदालाई अन्तिम रूप दिइसकेपछि जनताको राय र प्रतिक्रियाका लागि राजपत्रमा प्रकाशित गर्ने र जनमत संकलन समितिले जनताका राय र सुझाव लिने कार्ययोजना पनि तय भएको छ।संविधानको पहिलो मस्यौदामाथि ११ हप्ता व्यापक छलफल, गोष्ठी, अन्तरक्रिया गर्ने, सुझावहरू लिने, संविधानसभाका सभासद्हरू आ-आफनो क्षेत्रमा गएर जनताका राय संकलन गर्ने कार्य हुनेछ भने अर्को वर्षो पुसमा जनताका रायसुझाव संकलन र विस्तृत प्रतिवेदन तयार गरी संविधानसभामा मस्यौदा पुनः पेस हुनेछ। सम्पर्ूण्ा जनताको रायबमोजिम संविधानको पहिलो मस्यौदा परिमार्जन गरी संविधानसभामा विधेयकको रूपमा पेस हुनेछ भने फागुनमा अन्तरिम संविधान र संविधानसभा नियमावलीबमोजिम संविधानको विधेयकमाथि सामान्य छलफल गर्दै विधेयकमाथि संशोधन दर्ता गर्ने समय दिने संविधानसभा कार्यतालिकामा छ।२०६६ चैत १ देखि वैशाख मसान्तसम्म संविधानका प्रत्येक धारा, उपधारामा निर्णय गर्ने र २०६७ वैशाख १ देखि जेठ ७ गतेसम्म नयाँ संविधानको प्रस्तावनासहित सम्पूर्ण भाग संविधानसभाबाट पारित गर्ने कार्ययोजना बनेको छ। नयाँ संविधानमा सभासदहरूले हस्ताक्षर गरी संविधानसभा अध्यक्षले प्रमाणीकरण गर्ने कार्य सोही वर्षो जेठको अन्तिम साता सम्पन्न गरी राष्ट्रपतिबाट २०६७ जेठ १४ गते नयाँ संविधान जारी हुनेछ -कार्ययोजनाले भनेको छ।

No comments: