News

Nov 28, 2008

नारायणहिटीका नौ कर्मचारी अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटीमा कार्यरत करिब सात सय कर्मचारीमध्ये नौजनाको नाम सरकारी रेकर्डमा नपरेको खुलासा भएको छ । नारायणहिटी प्रशासनको लापरबाहीका कारण सरकारी रेकर्डमा नपरेका ती कर्मचारी हाल स्व. राजा त्रिभुवनकी ल्याइते श्रीमती सरला मानन्धरको निवासमा काम गरिरहेका छन् ।पूर्वराजाले राष्ट्रप्रमुख भएका बेला प्रशासनिक र निजी काममा खटाएका कर्मचारीलाई सरकारले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिसकेको छ । गणतन्त्र स्थापनापछि उनीहरूलाई सरकारी कर्मचारीका रूपमा समायोजन गरिएको थियो । तर, तत्कालीन राजप्रासाद प्रशासनले 'सानुरानी साहेब' सरलाको घरमा काम गर्दै आएका निजी कर्मचारीको नाम भने सरकारलाई उपलब्ध नगराएको खुल्न आएको छ । मिति गुजि्रसकेको परिचयपत्र बोकेर उनीहरू दरबार छिर्ने गरेका छन् । सरकारी रेकर्डमा नाम नभएकाहरूमा द्वारे राधा तामाङ (सिन्धुपाल्चोक) खरिदार दिलिप तण्डुकार (कोटेश्वर काठमाडौं), डोले मानबहादुर तामाङ (दोलखा), कोटे जंगबहादुर गुरुङ (धादिङ), नानीहरू सरस्वती खड्का (फुटुङ काठमाडौं) र गीता घले (रामकोट काठमाडौं), भान्से बज्यैहरू देवकी (जानकी) ढकाल (बाह्रबिसे सिन्धुपाल्चोक), दधिमाया (सुभद्रा) पौडेल (बाह्रबिसे) र प्रभावती रेग्मी (नयाँ बानेश्वर) छन् । दरबारको निजी शाखातर्फ काम गर्दै आएका उनीहरूको नाम दरबार प्रशासनले सरकारलाई नदिएका कारण सरकारी सुविधाबाट वञ्चित हुनुपरेको एक कर्मचारीले नयाँ पत्रिकालाई जानकारी दिए । उनीहरूमध्ये खरिदार दिलिप तण्डुकारबाहेक आठ कर्मचारी दरबारभित्र सरला बस्दै आएको घरमा बसिरहेका छन् । नारायणहिटी दरबारको तीनतले घरको पहिलो तलामा सरला बसेकी छिन् भने दुई पुरुषसहित आठ कर्मचारी दोस्रो तलामा बस्दै आएका छन् । कर्मचारी स्रोतका अनुसार द्वारेको तलब मासिक तीन हजार ६ सय, खरिदारके तीन हजार सात सय, डोले र कोटेको दुई हजार आठ सय, दुई नानीहरूको प्रतिव्यक्ति दुई हजार सात सय र भान्से बज्यैहरूको तीन हजार एक सय रुपैयाँ तोकिएको छ । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले नै उनीहरूलाई तलब खुवाइरहेका छन् ।'नागार्जुनबाट पैसा आउँछ भन्ने सुनेका छौं,' नयाँ पत्रिकासित एक कर्मचारीले भने, 'तर, नारायणहिटीमा चाहिँ द्वारे आमाले तलब दिनुहुन्छ ।' हाल नौ कर्मचारीका प्रमुखका रूपमा द्वारे राधा तामाङ कार्यरत छिन् । अर्का एक कर्मचारीका अनुसार गत वर्षसम्म सबैको तलब दुई हजारभन्दा कम थियो । 'यस वर्ष हामीले नै गुनासो गरेपछि तलब बढेको हो,' उनले भने । नौमध्ये द्वारे राधा, भान्से बज्यैहरू दधिमाया र प्रभावतीको उमेर ६० वर्ष नाघिसकेको छ । सरलाकहाँ खटिएकामध्ये डोले मानबहादुर तामाङ २२ वर्षका छन् भने नानी गीता घले २० वर्षकी छिन् । 'वृद्ध अवस्थाका कर्मचारीले औषधी पनि खान पुगेन भनेर गुनासो गरेपछि यसपालि तलब बढेको हो,' एक कर्मचारीले भने । यसैबीच, सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको नाम छुटेको विषयमा अनभिज्ञता प्रकट गरेको छ । 'हामीलाई त जानकारी नै थिएन,' मन्त्रालयका उपसचिव कुमारप्रसाद दाहालले नयाँ पत्रिकासँग भने, 'हामी तत्काल यस विषयमा बुझ्नेछौं ।'

No comments: