News

Nov 28, 2008

मुम्बईको ताजमहल होटलमा आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भर्खर बुधबार रातको साढे नौ बज्दै थियो । मुम्बईमा सबैभन्दा सुरक्षित मानिएको ताजमहल होटलको बियर बारमा मधुर संगीतसँगै मदिरामा झुम्दै गरेका पाहुनाहरू त्यतिबेला झस्के जतिबेला उनीहरूको अगाडि एके-४७ बोकेका केही आतंककारी युवा देखिए । 'हतियार लिएर उभिएको एउटा कालो वर्णको मान्छेले चिच्याउँदै भन्यो, 'अमेरिकी र बि्रटिस नागरिकले हात उठाऊ । हामीहरू तिमीहरूलाई मार्न चाहन्छौं,' घटनाका प्रत्यक्षदर्शी बेलायती नागरिक राकेश पटेलले त्रासले सुकेका ओठ कपाउँदै भने, 'भाग्य भएर बाँचियो । त्यसपछि के भयो मेरो दिल र दिमागले काम गरेन ।' समुद्रमा डुंगा चढेर बेलुन उडाउँदै मुम्बई प्रवेश गरेका चरमपन्थी हतियारधारीहरूले ताज होटलमा प्रवेश गर्नुपहिले नै मुख्य रेल्वे स्टेसन छत्रपति शिवाजी टर्मिनलमा गोली वर्षाएका थिए । यसको लगत्तै खबर आयो- आक्रमण त टर्मिनलमा मात्र होइन रहेछ । लियोपोल्ड रेस्टुरेन्ट, मेट्रो ऐडलैब्स, नरमेन हाउस, विले पार्ले, मझगाव, जिटी अस्पताल र कामा अस्पतालमा पनि आक्रमणका कारण त्यत्तिकै आतंक छाएको रहेछ । ताज होटलको छतमा ठूलो विस्फोट हुँदा एकाध पाहुनाहरू होटलबाट भागेर बाहिर निस्किसकेका थिए । राति एघार बजेतिर ताजबाहिर घाइतेहरूलाई स्टे्रचरमा हालेर दौडाएको दृश्य त्यत्तिकै दर्दनाक थियो । ताज र ओवराय होटलभित्र स्वचालित हतियारसहित आतंककारीहरू छिरेको खबरपछि सडकमा हिँडेका बटुवाहरूसमेत रोइकराइ गरेको दृश्य देखियो । बाहिर सडकमा स्थानीय बासिन्दाहरू आफ्ना साथीभाइ, आफन्तहरूको खोजीमा दौडिरहेका थिए । मुम्बईका विभिन्न स्थानमा भएका आक्रमणमा बिहीबार साँझसम्म कम्तीमा एक सय ३२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । घटनाहरूमा कम्तिमा तीन सय १४ घाइते भए । मृत्यु हुनेहरूमा प्रतिआतंकवाद स्कड प्रमुख हेमन्त कारेकारेसहित कम्तीमा २६ प्रहरी, नौ विदेशी, ८२ भारतीय नागरिक र पाँचजना संदिग्ध आतंककारी बताइएको छ । ताज र ओवराय होटललगायतका अन्य स्थानमा हमलापछि बिहीबार दिनभर चरमपन्थी लडाकु र भारतीय कमान्डोहरूबीच गोली हानाहान भइरह्यो । होटलहरूमा रहेका आतंककारीहरूलाई निस्तेज पार्न राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) र अन्य सुरक्षा फौजका निसानावाजहरू ती होटलमा खटिएका देखिए ।उनीहरूले सतर्कताका साथ होटलका कोठाहरूमा छापा मारिरहे । कारबाही थाल्नुअघि सुरक्षा फौजले बिहीबार बिहान वरपरका बस्तीबाट थुप्रै बासिन्दालाई उद्धार गरेका थियो । ताज होटलमा बिहीबार राति कमान्डोहरूले अन्तिम 'अपरेसन×' जारी राखेका छन् । भारतीय प्रहरीले ताजमा लुकेका सबै आतंककारी मारिएको दाबी गरेको छ । कमान्डो अपरेसन भएका सबै होटलहरूमा थुप्रै कर्मचारी पनि मारिएको बताइएको छ । घटनाको डेक्कन मुजाहिद्दिन नामक सञ्जालले जिम्मेवारी लिए पनि भारतीय सुरक्षा संयन्त्रले यसको आधिकारिकता पुष्टि गरेको छैन ।घटनाहरूपछि मुम्बई महानगरभर सन्त्रास छाएको छ । सबै शैक्षिक संस्था, निजी कम्पनी र कलकारखानाहरू बन्द गर्ने आदेश दिइएको छ । बैंकिङ कारोबार र स्टक एक्स्चेन्ज ठप्प छन् । महाराष्ट्रका मुख्यमन्त्री बिलासराओ देशमुखले 'स्थिति विकराल रहेको' बताए । 'मुम्बई अपरेसन'का लागि छिमेकी पुने र दियोलालीबाट करिब पाँच सय सैनिक र नयाँदिल्लीबाट दुई सय एनएसजी कमान्डो पनि थपिएका छन् । यो समाचार तयार पारुन्जेलसम्म ओवराय होटलमा कम्तीमा सयजना पाहुनालाई आतंककारीहरूले बन्धक बनाइरहेका छन् । यसैगरी, प्रधानमन्त्री मनमोहन सिंहले मुम्बईमा गरिएका आतंकवादी हमलामा संलग्नहरू भारतबाहिरका रहेका भन्दै यसको मूल्य आतंकवादीहरूले चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले घुमाउरो पारामा पाकिस्तानले आतंकवादीका लागि भूमि उपलब्ध गराएको र यो कुरा दह्रोसँग उठाइने बताए ।नेपालसहित विभिन्न मुलुकले मुम्बई घटनाको भत्र्सना गरेका छन् । अमेरिका, जापान, बेलायत र जर्मनले घटनाको निन्दा गर्दै आतंकवादविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । यसैबीच, मुम्बईमा भएको आतंकवादी हमलाको विषयलाई लिएर भारतको प्रमुख प्रतिपक्ष दल भाजपाले केन्द्र सरकारको विरोध नगर्ने भएको छ । आतंककारी हमलाको सन्दर्भमा विपक्ष दल भाजपाका नेता लालकृष्ण आडवाणीले अध्यक्षता गरेको आपतकालीन बैठकले आतंकवादलाई राजनीतिभन्दा माथि राखिनुपर्ने र समाज टुक्र्याउनेे मतभेद भुल्न सबैमा आह्वान गरेको छ । भाजपाका अध्यक्ष राजनाथ सिंहले आफ्नो चुनाव प्रचारको क्रममा आतंकवादको मुद्दाको विषयमा सरकारको आलोचना हाललाई रोकिने बताए । भाजपाको यो निर्णयले सत्तारुढ कांग्रेसलाई केही राहत दिएको छ । यति हुँदाहुँदै पनि यस हमलाले गर्दा नजिकिँदै गएको चुनावमा कंग्रेसलाई नराम्रो असर पर्ने सक्ने सम्भावना औंल्याइएको छ । 'घटनाले भारतीय सुरक्षा व्यवस्था कमजोर रहेको देखायो । 'भारतीय राजनीतिमा चुनावअगाडि भएको यो घटनाको प्रभाव पर्छ नै,' लामो समयसम्म भारतमा रहेर पत्रकारिता गरेका नेपाली पत्रकार युवराज घिमिरेले नयाँ पत्रिकासित भने, 'घटनाले भारत र पाकिस्तानको सम्बन्धलाई प्रभावित पार्ने देखिन्छ ।'(एजेन्सीको सहयोगमा)

No comments: