News

Nov 17, 2008

आगामी २०६७ साल जेठ १४ गतेसम्ममा नयाँ संविधान लागु गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आगामी २०६७ साल जेठ १४ गतेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान सार्वजनिक गरी लागु गरिने भएको छ । संविधानसभाले जनादेशबमोजिम तोकिएको समयमा संविधान निर्माण गर्ने प्रतिबद्धताका साथ स्वीकृत गरेको प्रस्तावित कार्यतालिकामा यस्तो प्रतिवद्धता उल्लेख गरिएको छ ।आम नेपाली जनताको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिताका साथ निर्माण गर्न लागिएको संविधान लेखन तथा प्रकाशन कार्य मंसिर १ गते आइतबारदेखि सुरु भइ १८ महिनासम्म जारी रहने छ । संविधानसभाको पहिलो बैठक भएपछि पाँच महिना कट्टा गरी संविधान निर्माण प्रक्रिया सुरु हुने कार्यतालिकामा संविधानसभाको पूर्ण बैठक तथा समितिको गठन तथा दायित्व, मुख्य गतिविधि एवं सम्पादन भइसक्नुपर्ने कार्यअवधिसमेत स्पष्टरूपमा किटान गरिएको छ ।मङ्सिर १३ गते संविधानसभाका उपाध्यक्षको निर्वाचन हुने, यही महिनाभित्र संविधानसभाका समितिको गठन र सभापतिको निर्वाचन तथा संविधान निर्माण कार्यमा आवश्यक सेवाको क्षेत्र पहिचान गरी विस्तृत विवरण बनाउने कार्यविधि कार्यतालिकामा उल्लेख छ ।यसैगरी पुस १५ गतेसम्म प्रत्येक समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषय र सोअन्तर्गत सञ्चालन हुने गतिविधिसहितको कार्यतालिका निर्माण गर्ने, पुस १५ देखि फागुन १५ गतेसम्म नयाँ संविधानको अवधारणासम्बन्धी व्यापक छलफल तथा विचार विमर्श गरिने भएको छ ।विषयगत समितिले अवधारणापत्रका आधारमा आगामी फागुन १५ देखि वैशाख १० गतेसम्म संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने, विषयगत समितिले तयार पारेको अवधारणापत्र र प्रारम्भिक मस्यौदा संविधानसभामा पेस गरी सुझावसहित संवैधानिक समितिमा पठाउनका लागि २०६६ साल वैशाख ११ गतेदेखि जेठसम्म समयावधि तोकिएको छ ।सोही वर्षको असारदेखि साउन १५ गतेसम्म संवैधानिक समितिले दिएको सुझाव र विषयगत समितिबाट पेस भएका मस्यौदालाई एकीकृत गरी नयाँ संविधानको मस्यौदा तयार गरेर भदौ २५ गतेसम्म संविधानसभाको पूर्ण बैठकमा छलफल गर्ने र भदौ २६ गतेदेखि मसान्तसम्म जनताको रायसल्लाह तथा प्रतिक्रियाका लागि राजपत्रमा प्रकाशन गर्ने विस्तृत कार्यतालिकामा उल्लेख छ ।आगामी वर्षको असोज १ देखि मङ्सिर २५ देखि पुस २२ गतेसम्म संविधानको पहिलो मस्यौदामाथि व्यापक सुनुवाइ, गोष्ठी र अन्तरक्रिया हुने र जनताको राय सुझावसम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी प्रतिवेदन सभामा पेस गर्ने कार्यक्रम उल्लेख छ ।यसैगरी जनताको सुझावसम्बन्धी प्रतिवेदनमाथि पुस २३ देखि माघ ७ गतेसम्म पूर्ण बैठकमा छलफल हुने, २०६६ फागुन ८-१० गतेसम्म पहिलो मस्यौदा जनताको रायबमोजिम परिमार्जन गरी संविधानको विधेयक सभामा पेस गर्ने, फागुन ११-१७ गतेसम्म अन्तरिम संविधान र संविधानसभा नियमावलीबमोजिम संविधानको विधेयकमाथि संविधानसभामा छलफल हुने संसद सचिवालयद्वारा जारी कार्यतालिकामा उल्लेख छ ।विधेयकमाथि सभासद्लाई फागुन १८-२४ गतेसम्म संशोधन राख्ने म्याद र फागुन २५ देखि वैशाख १५ गतेसम्म विधेयकमाथि दफावार छलफल हुने र सर्वसम्मति बन्न नसकेका विषयलाई सबै संसदीय दलका नेता बसेर टुङ्गो लगाउने र २०६७ वैशाख १५ गतेसम्म विधेयकमाथिको दफावार छलफलका साथ नयाँ संविधानको प्रस्तावसहित सम्पूर्ण भाग संविधानसभाबाट पारित गरिने कार्यतालिकामा उल्लेख छ ।विसं २०६७ वैशाख १६ देखि जेठ १४ गतेसम्म सभासद्को हस्ताक्षरपछि अध्यक्षबाट प्रमाणीकरण भई संविधानसभाको औपचारिक राष्ट्रिय समारोहका बीच राष्ट्रपतिसमक्ष पेस भएको संविधान सोही समारोहमा जनतामाझ राष्ट्रपतिले सार्वजनिक गरी लागू भएको घोषणा गर्ने संसदद्वारा पारित संविधानसभा कार्यतालिकामा उल्लेख छ ।

No comments: