News

Nov 24, 2008

राजा महाराजाका शालिकका स्थानमा अब जनताका शालिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजा महाराजाका शालिकका स्थानमा अब जनताका शालिक राख्ने अभियानले तीव्रता पाउने भएको छ।राजधानीको कालिमाटीमा राजा महेन्द्रको ठाउँमा कवि चित्तधर हृदयको शालिक राखेको केही अन्तरालमै पोखरामा पृथ्वीनारायण शाहको ठाउँमा नेपालका पहिलो शहीद लखन थापाको शालिक राखिने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले उद्घाटन गर्ने तयारीमा रहेको आठ फटि अग्लो धातुको शालिक मगर समाजले निर्माण गर्न लगाएको हो।मगरले नै शालिक बनाउने भनिए पनि कलाकार यमबहादुर मगरले बनाउन नसकेपछि विष्णुप्रसाद बरालले निर्माण गरेका हुन्।७ लाख रुपियाँमा निर्माण गरिएको पूर्ण् कदको सो शालिक ६ महिना लगाएर निमँण गरिएको कलाकार बरालले बताए।तत्कालीन मगर राज्य गोर्खाबाट मगरलाई नै हराएपछि सत्ता लिएका राजा पृथ्वीनारायणको ठाउँमा मगरकै शालिक प्रतिस्थापन गर्न लागिएको हो।जनआन्दोलन-२ का शहीदका शालिक राख्ने अभियान चलिरहेको अवस्थामा देशका अधिकांश स्थानमा राजा महाराजाका शालिक भत्किसकेका छन्।उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले राजा महाराजाका शालिक संग्रहालयमा थन्क्याएर जनताका नेताहरूका शालिक निर्माण गरिने बताएपछि यो क्रमले अझ तीव्रता लिने देखिएको छ।गणतन्त्र स्थापनालगत्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयअगाडि तथा नुवाकोट, गोर्खा, हेटौंडा, बुटवल, झापालगायत दर्जनौं जिल्लाका मुख्य चोकमा राखिएको शालिक भत्काएर जनताको शालिक निर्माण गर्ने तयारी भइरहेको छ।एकातिर इतिहास रचिएका शालिक भत्काएर शहीद वा चर्चित व्यक्तित्वको शालिक प्रतिस्थापन गर्ने क्रम चलेको छ भने अर्कोतिर राजधानीका लक्ष्मणसिंह खड्का राजा महाराजाका पुराना शालिक रक्षा गर्न व्यस्त छन्। खड्काले अहिलेसम्म राजधानीका एक दर्जन शालिकमा रंगरोगन गरेका छन्।सिंहदरबार अगाडिको पृथ्वीनारायण शाह, त्रिपुरेश्वरको त्रिभुवन, नारायणहिटी दरबार अगाडिको महेन्द्र, जावलाखेलको वीरेन्द्र, कोटेश्वरको टंकप्रसाद आचार्य, शहिदगेटका चार शहीद र त्रिभुवन, डिल्लीबजारको लक्ष्मीप्रसाद देवकोटा, सिफलको धर्मभक्त माथेमा, दरबार हाइस्कुल अगाडिको भानुभक्त आचार्य र चक्रपथको नारायणगोपालको शालिकमा रंग लगाएर उनले राष्ट्रिय झन्डा फहराएका छन्।गणतन्त्र घोषणा भएलगत्तै एक समूहले सिंहदरबारस्थित पृथ्वीनारायण, दरबारमार्गस्थित राजा महेन्द्रको शालिक फोड्ने प्रयास गरेका थिए भने त्यस क्रममा पृथ्वीनारायणको शाकिलको श्रीपेच र तरबार चोरी भइसकेको थियो। राष्ट्रले सुरक्षा र संरक्षण गर्नुपर्ने शालिकको मैले संरक्षण गर्न पाउँदा सौभाग्य महसुस गरेको छु’ -खड्काले भने।राजधानीका राजाहरूका शालिकको सुरक्षार्थ सुरक्षाकर्मी राखिएको भए तापनि एउटा व्यक्तिले मनखुसी रंग लगाउँदा दिने वा नदिने भन्ने विषयमा भने राज्यले चासो देखाएको छैन। अझ एक दर्जन शलिकमा रंग लगाउने लक्ष्य राखेको छु’ -खड्काले भने।

No comments: