News

Nov 24, 2008

सवारी भाडालगायतका विषयमा अल्टिमेटमसहितको ज्ञापनपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न दलनिकट आठ विद्यार्थी सङ्गठनले सवारी भाडालगायतका विषयमा सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको भन्दै माग पूरा गर्न सात दिनको अल्टिमेटमसहितको ज्ञापनपत्र दिएका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन एकीकृतको केन्द्रीय कार्यालयमा भएको ती विद्यार्थी सङ्गठनको बैठकको निर्णयबमोजिम उक्त ज्ञापनपत्र दिइएको हो । श्रम तथा यातायात र वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत सरकारलाई दिइएको ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मूल्य घटाउन, औद्योगिक र सर्वसाधारणका लागि दोहोरो मूल्य निर्धारण गर्न, विद्यार्थी र सर्वसाधारणलाई रासन कार्ड व्यवस्था गर्न, सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर निर्धारण गर्न, सम्पूर्ण सार्वजानिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियतको सम्झौता क्रियान्वयन गर्न, नेपाल आयल निगमभित्रको चुहावट र अनियमितता नियन्त्रण गर्नलगायतका माग पुरा गर्न आग्रह गरिएको छ ।अनेरास्ववियु एकीकृतका महासचिव जागृत रायमाझीद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले यातायातमा थोरै भाडा घटाउनेबाहेक कुनै सकारात्मक पहल नगरेको र जनताको जनजीवीकासँग गम्भीर सरोकार राख्ने सवालमा हेलचेक्र्याइ गर्ने काम गरेको भन्दै वार्ता र सम्वादका माध्यमबाट जनचासो सम्बोधन गर्ने प्रयास असफल भएपछि आन्दोलनमा जान बाध्य भएको जनाइएको छ ।

No comments: