News

Nov 29, 2008

लाहुरेको सूचनामा सीमित छ आकाशवाणी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक दशकअघिसम्म सूचना आदान-प्रदानको भरपर्दो माध्यमका रूपमा रहेको आकाशवाणी सेवा हाल केही लाहुरेको खबर आदान-प्रदानमा सीमित भएको छ । लाहुरेको खबर आदान-प्रदानमा सीमित आकाशवाणी अधिकांशका लागि बिरानो हुन पुगेको छ । राणा प्रधानमन्त्री मोहनशम्शेरको पालामा २००५ सालमा स्थापना भएको तत्कालीन 'मोहन आकाशवाणी' लाई हाल नेपाल दूरसञ्चार कम्पनीले सञ्चालन गरिरहेको छ । धेरैलाई जानकारी नभएको आकाशवाणी सेवामार्फत् अहिले पनि खबरहरू आदान-प्रदान भइरहेका छन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको केन्द्रीय टेलिग्राम कार्यालयबाट सर्वसाधारण र कूटनीतिक नियोगका कर्मचारीहरूले आकाशवाणीमार्फत् खबर आदान-प्रदान गरिरहेको कार्यालयका वरिष्ठ सहायक शम्भुबहादुर हमालले नयाँ पत्रिकालाई बताए । आकाशवाणी सञ्चारको सबैभन्दा पुरानो विद्युतीय माध्यम मानिन्छ । हमालका अनुसार टेलिग्राम मेसिनमार्फत् सूचना आदान-प्रदान भइरहेको छ । '१०/१२ वर्षअगाडि जस्तो सन्देश पठाउने मान्छेहरूको लर्को अहिले टेलिग्राम कार्यालयमा लाग्दैन,' हमालले भने । 'पहिले त सबै खबर पठाउन आउँथे, अहिले त भारतमा काम गर्ने लाहुरे र इन्डियन एम्बेसीको केही खबर मात्र आउँछ,' २०३६ सालदेखि आकाशवाणी सेवामा काम गरेका हमालले भने । उनका अनुसार, २०३६ सालदेखि १०/१२ वर्षअघिसम्म दैनिक झन्डै एक हजार खबर आदान-प्रदान हुने टेलिग्राम कार्यालयबाट अहिले दैनिक १५/१६ वटा मात्र खबर आदान-प्रदान हुन्छन् । त्यसमा अधिकांश भारतमा काम गर्ने गोर्खा सेनाहरूको हुन्छ भने केही अरबी मुलुकमा काम गर्ने नेपालीको पनि आउने गरेको छ । स्रोतका अनुसार जनआन्दोलन- २ पछि सत्ताच्यूत भएका पूर्वराजा ज्ञानेन्द्रले पनि विभिन्न मित्रराष्ट्रका राष्ट्राध्यक्षहरूलाई आकाशवाणीमार्फत् आफ्ना सन्देश पठाउने गरेका थिए । सरकारले राष्ट्राध्यक्षको मान्यता नदिए पनि उनले आफ्ना सन्देश पठाउन आकाशवाणीको सुविधा प्रयोग गरेका थिए । 'हाल ग्राहकहरू सन्देश पठाउन होइन्ा, लिन मात्रै आउँछन्,' हमालले भने । उनका अनुसार स्थापनाको सुरुवातमा आकाशवाणी सेवाका लागि छुट्टै कार्यालय स्थापना भएको थियो, तर प्रयोगमा कमी आएपछि आकाशवाणीलाई टेलिकमको शाखामा सीमित गरिएको छ । आकाशवाणीको केन्द्रीय कार्यालयमा हाल चारजना कर्मचारी मात्र आकाशवाणी शाखामा कार्यरत छन् । टेलिफोन, मोबाइल र इन्टरनेटको विकाससँगै प्रयोगविहीन भएको आकाशवाणी सेवालाई टेलिकमले हाल भि-स्याट प्रविधिमा लगेको छ । टेलिकमले ६ महिनाअघि मात्रै आकाशवाणीलाई पनि भि-स्याट प्रविधिमा लगेको हो । त्यसका लागि सोलुखुम्बुको किन्जा भन्ने ठाउँमा भि-स्याट लिंक राखिएको टेलिकमका महाप्रबन्धक रूपक हाल्डरले जानकारी दिए । उनका अनुसार सिंहदरबारमा ट्रान्समिट स्टेसन र छाउनीमा रिसिभर रहेको आकाशवाणीले अहिले पनि मेसिनमार्फत् विश्वभर नै सूचना आदान-प्रदान गर्न सक्छ । भि-स्याट प्रविधिमा जानुअघि आकाशवाणी सेवालाई मार्कफोर सेटमार्फत् सञ्चालन गरिँदै आएको थियो । आकाशवाणीमार्फत् अहिले पनि बैंकको टिटी, विवाहका खबर, रेडक्रस खबर र भारतीय दूतावासका खबर आउने गरेका छन् । विगतमा खबर टिपेर पुनः अर्को ठेगानामा टिपाउने गरिएकोमा हाल भने टाइप गरेर मेसिनमार्फत् निर्धारित ठेगानामा पठाइने गरिएको छ । देशभित्र सन्देश पठाउनका लागि ३० शब्दसम्मको तीन रुपैयाँ र त्यसभन्दा बढी शब्द लेख्नुपरेमा प्रतिशब्द पाँच पैसाका दरले शुल्क लिने गरिएको छ । कर्मचारीका अनुसार भारतमा सन्देश पठाउन भने प्रतिशब्द ७५ पैसा शुल्क लाग्छ । पुरानो प्रविधि भएकाले ग्राहकको आकर्षण घटे पनि सेवाका लागि मात्र आकाशवाणी सञ्चालन गरिरहेको महाप्रबन्धक हाल्डर बताउँछन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरूको सन्देश बढी आउने भएकाले पनि तत्काल यसलाई बन्द गर्न नसकिएको उनको भनाइ छ । तर, टेलिकमले घाटामा सञ्चालन गरिरहेको यो सेवा केही वर्षपछि आफंै लोप हुने टेलिकम कर्मचारीहरू बताउँछन् । ग्राहकको संख्यामा निक्कै कमी आएकाले केही वर्षमा यो सेवा बन्द गर्न सकिने हाल्डरले बताए ।

No comments: