News

Nov 20, 2008

प्रचण्ड तेस्रोपटक भारत भ्रमण स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिमस्टेक सम्मेलनमा भाग लिएर फर्केको एक साता नबित्दै माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयलाई थाहै नदिई गर्न लागेको भारत भ्रमण स्थगित भएको छ । स्थगित नभएको भए प्रचण्ड तेस्रोपटक भारत भ्रमणका लागि शुक्रबार (आज) दिल्लीतर्फ जाने कार्यक्रम तय भएको थियो । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड भारतीय पत्रिका हिन्दुस्तान टाइम्सको लिडरसिप समिटमा भाग लिन शुक्रबार जाने कार्यक्रम तय भएको थियो । उनी आज अपराह्न ४ बजे इन्डियन एयरलाइन्सबाट नयाँदिल्ली जाने कार्यक्रम थियो । तर, उनको भ्रमणका बारेमा परराष्ट्र मन्त्रालयलाई पनि जानकारी दिइएको थिएन । दिल्लीको ताज प्यालेस होटलमा हुन लागेको समिटको उद्घाटन शुक्रबार बिहान १० बजे भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले गर्ने कार्यक्रम रहेको छ । समिटमा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, पाकिस्तानका राष्ट्रपति असिफ अली जर्दारी, भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी, भारतीय अभिनेता सञ्जय दत्त, क्रिकेट खेलाडी राहुल द्रविडलगायतले सहभागिता जनाउने कार्यक्रम रहेको हिन्दुस्तान टाइम्सको अनलाइनले जनाएको छ । स्रोतका अनुसार २४ कात्तिकका लागि तय गरिएको माओवादीको राष्ट्रिय कार्यकर्ता भेला सरेपछि प्रचण्डले दिल्ली जाने कार्यक्रम स्थगित गरेका हुन् । 'बिमस्टेकको बैठकमा जानुअघि मात्रै स्थगित भएको हो,' प्रधानमन्त्री निकटस्थ स्रोतले भन्यो । तर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार हीराबहादुर थापाले भने व्यस्तताका कारण प्रधानमन्त्रीको भ्रमण स्थगित भएको हुन सक्ने बताए । 'प्रधानमन्त्रीज्यू राजनीतिक कार्यक्रममा व्यस्त रहनुभएकाले स्वदेशमै पनि विदेशीहरूलाई भेट्ने समय दिनुभएको छैन,' थापाले प्रधानमन्त्री प्रचण्डको व्यस्तताबारेमा लिम्वूवान डट व्लगस्पोट डटकमसँग भने ।

No comments: