News

Nov 22, 2008

बिल तिर्न नसक्दा कांग्रेस केन्द्रीय कार्यालय फोनविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टेलिफोनको बिल तिर्न नसक्दा कांग्रेस केन्द्रीय कार्यालय फोनविहीन बनेको छ । कार्यालय प्रयोजनका लागि जडान गरिएको चार लाइन फोनको पैसा नतिरेपछि नेपाल टेलिकमले चार दिनअघि चारवटै लाइन काटिदिएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि अधिकांश समय सत्तामा रहेको कांग्रेस मुख्यालय सानेपामा रहेको ५५५५१८८/१८९/२६४ र ५५५०९२४ नम्बरको टेलिफोन लाइन टेलिकमले काटेको हो । कांग्रेसले चार लाइन टेलिफोनको ३६ हजार चार सय ५४ रुपैयाँ ३१ पैसा तिर्न बाँकी रहेको टेलिकमले जनाएको छ । ५५५५१८८ को आठ हजार तीन सय ४५ रुपैयाँ ३७ पैसा, ५५५५१८९ को पाँच हजार आठ सय ११ रुपैयाँ ३२ पैसा, ५५५५२६४ को १० हजार पाँच सय १३ रुपैयाँ ९९ पैसा र ५५५०९२४ को ११ हजार सात सय ८३ रुपैयाँ ६३ पैसा तिर्न बाँकी छ । नाम उल्लेख नगर्ने सर्तमा टेलिकमका एक अधिकारीले भने, 'टेलिफोनको पैसा तिर्न पटकपटक ताकेता गर्दा पनि पैसा नबुझाएपछि लाइन काट्न बाध्य भएका हौं ।' कांग्रेस मुख्य-सचिव जीवनपे्रम श्रेष्ठले पार्टी केन्द्रीय कार्यालयको टेलिफोन केही दिनदेखि 'बिगि्रएको' बताए । पैसा नतिरेर लाइन काटिएको हो ? भन्ने नयाँ पत्रिकाको जिज्ञासमा उनले अनभिज्ञता प्रकट गर्दै भने, 'अफिस नगएको धेरै दिन भयो, पैसा नतिरेकोजस्तो त लाग्दैन ।' यसैबीच, कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रयोग गरेको टेलिफोन लाइन पनि काटिएको छ । बिल नतिर्दा २ मंसिरदेखि उनले प्रयोग गरेको एक लाइन टेलिफोन काटिएको हो । टेलिकमका एक कर्मचारीले ५५६०९१८ नम्बरको टेलिफोनको बिल नतिरेकाले लाइन काटेको बताए । सरकारी आश्रम ललितपुरको बाँडेगाउँमा बस्दै आएका नेता भट्टराईले प्रयोग गरेको सो टेलिफोनको २७ हजार चार सय ५१ रुपैयाँ ७ पैसा बुझाउन बाँकी रहेको छ । सरकारले नेता भट्टराईको गाँस, बाससहित सम्पूर्ण व्यवस्था गर्ने निर्णय गरेको थियो ।

No comments: