News

Nov 22, 2008

भुटानका सञ्चारमन्त्रीले नेपाल सरकारलाई सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भुटानका सञ्चारमन्त्री नन्दलाल राईले राज्य चलाउने जिम्मा जनतालाई दिनुपर्ने सुझाव नेपाल सरकारलाई दिएका छन् । उनले नेपाली जनता अझै पनि राज्य चलाउने जिम्मेवारीबाट वञ्चित हुनुपरेको बताए ।'नयाँ सरकार बनेको छ । तर, स्थानीय निकायहरू जनप्रतिनिधिविहीन छन् । त्यसैले नेपाली जनताले राज्य चलाएको अनुभूति गर्न पाएका छैनन्,' उनले कुनै नेपाली नेताको जस्तै शैलीमा भने, 'यस्तो भएन भने रिक्तता हुन्छ । त्यो जनपक्षीय हुँदैन ।' नेपालगन्जमा बिहीबार साँझ आइपुगेका मन्त्री राईले जनता नै देशको सबैभन्दा महत्त्वपूर्ण अंग रहेको जिकिर गरे ।आफ्नो देशमा विमानस्थल निर्माणका लागि नेपालका विकट जिल्लामा रहेका विमानस्थल अवलोकन भ्रमणका लागि नेपाल घुम्दै गरेका भुटानी मन्त्री राई नेपालगन्जसम्म आइपुगेका हुन् । भौगोलिक बनावट एकै प्रकारको रहेकोले विमानस्थलको भ्रमणमा आएको उनले स्पष्ट पारे । उनी शुक्रबार बिहान जुम्लाको विमानस्थल भ्रमणमा गए । नयाँ नेपाल निर्माणबारे उनको धारणा के रहेछ भनेर राखिएको जिज्ञासाको जवाफ दिँदै उनले 'नेपालले नयाँ सरकार गठनसँगै देशले गति लिएको' बताए । नेपाल सरकारले चुनौतीलाई सामना गर्न नसके ठूलो दुर्घटना हुनसक्ने पनि उनले चेतावनी दिए । तर, नेपाल सरकार र नेपाली जनता ती चुनौतीको सामना गर्न सक्षम रहेको उनको भनाइ थियो ।'नेपाली जनताले लोकतन्त्र स्थापनाका लागि जस्तोसुकै चुनौतीको सामना गरे । त्यसैअनुरूप नयाँ नेपाल निर्माणमा पनि उनीहरू जस्तोसुकै चुनौती सामना गर्न सक्षम छन्,' उनले भने ।स्पष्ट नेपाली भाषा बोल्ने भुटानी सञ्चारमन्त्री राईले जनतामाथि कुनै पनि दमन र शोषण स्वीकार नहुने बताए । 'जहाँका जनतामाथि दमन र शोषण हुन्छ त्यहाँ लोकतन्त्र फस्टाउन सक्दैन,' उनले भने, 'शोषण र दमनले विद्रोह जन्माउँछ ।'

No comments: