News

Nov 18, 2008

जनगणतन्त्रको विषयमा रहेको मतभेद नेकपा माओवादीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनगणतन्त्रको विषयमा रहेको मतभेद र अन्य विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रिय कार्यसमिति बैठक आज सोमबार बस्ने भएको छ । भक्तपुरस्थित विद्युत प्राधिकरणको तालिमकेन्द्रमा हुने बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिवेश र भावी जनदिशा समेटिएको राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नुहुनेछ ।माओवादीभित्र हाल लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनगणतन्त्रमा जाने वा सिधै जनगणतन्त्रमा जाने भन्ने विवादमा छलफल शुरु हुने जनाइएको छ । श्रोतका अनुसार लोकतन्त्रलाई संस्थागत गर्दै जनगणतन्त्रमा जाने एउटा धारको अध्यक्ष प्रचण्डले प्रतिनिधित्व गर्नुभएको छ भने सिधै जनगणतन्त्रमा जानुपर्ने कट्टरपन्थी धारको प्रतिनिधित्वमा मोहन बैद्य किरणले गरिरहनुभएको छ ।बैठकमा दुबै धारबाट छुट्टाछुट्टै प्रतिबेदन प्रस्तुत हुने सम्भावना रहेको छ । यसअघि बसेको केन्द्रिय कार्यसमितिको बैठकमा जनगणतन्त्रको विषयमा विवाद उत्पन्न भएपछि अहिलेको बैठकले टुङ्ग्याउने गरी बैठक स्थगित गरिएको थियो । बैठकमा यही मंसिर ५ गतेदेखि शुरु हुने राष्ट्रिय कार्यकर्ता भेलालाई व्यवस्थित गर्ने, सेना समायोज तथा सरकारले ल्याएको बजेट कार्यावयन गर्ने विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

No comments: