News

Nov 30, 2008

विवाहका लागि घर जाने क्रममा दुर्घटनामा परी मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौंबाट दोलखाको सिंगटीतर्फ जाँदै गरेको यात्रुवाहक बस शनिबार दिउँसो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा चंखु- ३ हुलाक निवासी २० वर्षीया आङ्लमु शेर्पा र दोलखा सुन्द्रावती- ६ का ७३ वर्षीय लाहुरे भनिने पुड्के थामी छन् । मृतक शेर्पाको यही साता विवाह हुँदै थियो । उनी विवाहका लागि राजधानीबाट घर जाने क्रममा दुर्घटनामा परेकी हुन् । दुर्घटनामा तीन दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये एक दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दोलखा खारेका बिर्खबहादुर थामी, झ्याकुका टपिन्द्र पाठक र सोही स्थानका सुकदेव पाठकलगायतलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । प्रहरी र स्थानीयवासीले घाइतेलाई उद्धार गरी सदरमुकाम ल्याएका थिए । घाइते हुनेमा अधिकांश एकै परिवारका सदस्य, साना बालबालिका, महिला तथा विद्यार्थी छन् । २५ जना घाइतेको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा अस्पताल र ११ जनाको गौरीशंकर जनरल अस्पताल दोलखामा उपचार भइरहेको छ । अरनिको यातायातको ना.३ख ३५४२ नम्बरको सो बस दोलखाको सुष्पाक्षमावती- ५ स्थित दामाराङ भन्ने स्थानमा शनिबार दिउँसो करिब साढे एक बजे दुर्घटना भएको थियो । छतमा समेत खचाखच यात्रु लिएर गएको सो बस चालकको लापरबाहीका कारण दुर्घटना भएको यात्रुले बताएका छन् । बसचालक दिलबहादुर मगर फरार छन् । दुर्घटनामा कन्डक्टर पुष्कर केसी पनि घाइते भएका छन् ।

No comments: