News

Nov 27, 2008

अरब गएकी नेपाली चेली अरबीको गर्भ बोकेर फर्किन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ महिनाअघि घरेलु कामदारका रूपमा साउदी अरब गएकी नेपाली चेली अरबीको गर्भ बोकेर फर्किएकी छिन् । दलालमार्फत साउदी अरब पुगेकी सुनसरी मधेली- ९ की अञ्जु मुसहर (नाम परिवर्तन) अरबीको सामूहिक बलात्कारपछि गर्भ बोकेर चार दिनअघि मात्र घर फर्किएकी हुन् ।वैदेशिक रोजगारकी दलाल मिना (सम्झना) खड्का क्षेत्रीले अञ्जुलाई मासिक १५ हजार तलब हुने आश्वासन दिएर आफ्ना सहयोगीमार्फत १६ जेठ ०६५ मा साउदी अरब पठाएकी थिइन् । उनलाई मिनाका सहयोगी सुनसरी डुम्राहा- ७ का मोस्ताकी मियाँ र मधेसा- ५ का वासुकी मोचीले मुम्बईको बाटो हुँदै साउदी अरब पुर्‍याएका थिए ।अञ्जुलाई लैजाने मियाँ र अन्य दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर आङ्ना- ६ घर भई झापा दमक- १० डेरा गरी बस्ने ३६ वर्षीय इन्द्र सम्बाहाम्फे र सुनसरी मधेसा- ६ का ३६ वर्षका वासु राम (चमार) छन् । पीडितले पक्राउ परेका तीनजना र पाँचथर मौवा घर भई इटहरी- ४ बस्ने मिना खड्का, इटहरी- ४ की रेखा चौधरी र रामकुमार चौधरीविरुद्ध मानव बेचबिखन र सरकारी छाप किर्ते गरेको मुद्दा दर्ता गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय सुनसरीले मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । प्रमाण नपुगेको भन्दै बिहीबार बिहान १० बजे पुनः आउनु भन्दै प्रहरीले निवेदन नलिएको पीडितका वकिल सुमन कार्कीले बताए । अञ्जुका बुबा धर्मे मुसहरले गरिब मुसहर, बाँतर, झाँगड समुदायका चेलीलाई वैदेशिक रोजगारमा पुर्‍याउने बहानामा गैरकानुनी रूपमा साउदी पुर्‍याएर बिक्री गर्ने गरेको बताए । टोलका दुई सय ५० भन्दा बढी महिलालाई उनीहरूले लगेपछि एक पैसा पनि खर्च गर्न नपर्ने र राम्रो ठाउँमा रोजगारी लगाइदिने आश्वासन दिएपछि आफूले पनि विश्वास गरेर छोरीलाई उनीहरूको साथ लगाएर पठाएको धर्मेले बताए । इनरुवाका अधिकारकर्मी भेषराज पोख्रेलका अनुसार एउटी महिलालाई फकाएबापत मिनाले गाउँका एजेन्टलाई पाँच सयदेखि दुई हजार रुपैयाँसम्म कमिशन दिने गरेकी छिन् । आफूलाई कहिले मिना तामाङ बताउने उनले सुनसरी र झापाका प्रहरीलाई समेत मासिक रूपमा रकम दिएर महिलालाई मुम्बईसम्म पुर्‍याउने गरेको तथ्य फेलापरेको उनले जनाएका छन् ।उनले काँकडभिट्टाका प्रहरीलाई एक महिलालाई काँकडभिट्टा नाका कटाएको पाँच सयका दरले रकम बुझाउँदै आएकी छिन् । यस विषयमा पटक-पटक जानकारी गराउँदा पनि प्रहरीले कुनै चासो नदिएको उनले बताए । मिना हाल इटहरी- ४ मा घर किनेर गोप्य रूपमा दलालको काम गरिरहेको स्रोतले जनाएको छ ।गैरकानुनी रूपमा गरिब, सोझा-सिधा महिलालाई मुम्बईको बाटो हुँदै खाडी राष्ट्र पुर्‍याउने गिरोह सुनसरीमा सक्रिय रहेको ओरेक सुनसरीका विनोद चौधरीले बताए । सो गिरोहका बारेमा पटक-पटक जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिँदा पनि वास्ता नगरेको उनले बताए । उनका अनुसार ६ महिनाको गर्भ बोकेर घर फर्केकी अञ्जुलाई मिनासहितको गिरोहले नक्कली कागजात पेस गरेर साउदी पुर्‍याएको प्रमाण पनि फेलापरेको छ । साउदीबाट भागेर आउँदा उनले ल्याएको पासपोर्ट र नागरिकता अर्कैको हो । फोटो मात्र उनको भएको चौधरीले बताए । झापा जिल्ला प्रशासन कार्यालयबाट सन् २००७ सेप्टेम्बर १४ तारेखमा झापाको शनिश्चरे- ५ निवासी नीरीमाया धिमालको नाममा जारी पासपोर्टमा अञ्जुको फोटो टाँसेको पाइएको चौधरीले बताए । अञ्जुको फोटो टाँसेको सो पासपोर्टको नम्बर ३६९९९२२ हो । सो पासपोर्टमा नीरीमायाको जन्ममिति १९७९ सेप्टेम्बर २८ तारेख उल्लेख गरिएको छ । अञ्जुको फोटोमा होलोग्राम भने टाँसिएको छैन । पासपोर्ट मात्र होइन, उसको नागरिकतामा पनि अञ्जुकै फोटो टाँसिएको छ । १ साउन ०५० मा जारी सो नागरिकताको नम्बर भने २५७५ हो । नीरीमायालाई झापा जिल्ला प्रशासनका तत्कालीन प्रशासकीय अधिकृत चन्द्रप्रकाश अधिकारीले नागरिकता दिलाएका हुन् । नीरीमायाको नागरिकता र पासपोर्ट ती दलालहरूले कसरी कहाँबाट ल्याए, आफूलाई केही थाहा नभएको अञ्जुले बताएकी छिन् । नागरिकता र पासपोर्ट आफंै बनाइदिने बताएकाले आफूले त्यसतर्फ चासो नदिएको उनले बताइन् ।पछि साउदी उड्ने बेलामा मात्र आफूले थाहा पाई नाम नमिलेको बताउँदा केही नहुने जवाफ उनीहरूले दिएको उनले जनाएकी छिन् । सो गिरोहले दिल्ली र मुम्बईमा नै नक्कली काम गर्ने गरेको उनले बताइन् । सुनसरीका प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले आफू भर्खरै सरुवा भई आएकाले मियाँ पक्राउ परेको र दलालहरू जिल्लामा सक्रिय भएको विषयमा केही जानकारी नभएको बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक शम्भु पोख्रेलले गाउँलेले मियाँलाई पक्रेर प्रहरीलाई बुझाएको र उनीमाथि छानबिन भइरहेको जनाए । पीडितबाट जाहेरी दर्ता भएपछि छानबिनलाई तीव्रता दिई प्रमाणित भएमा कानुनअनुसार कारबाही गर्ने उनले बताए ।


'गर्भवती भएपछि मार्ने योजनासम्म बनाए'

मिना खड्काले मलाई मासिक १५ हजार पाउने आश्वासन दिएर साउदी अरब जान अनुरोध गरेकी थिइन् । नाजुक आर्थिक अवस्था र एक पैसा पनि खर्च नलाग्ने भनेपछि म साउदी अरब जान तयार भएँ । १६ जेठ ०६५ मा मिनाका सहयोगी मोस्ताकी मियाँ, वासुकी मोची र अन्य दलालहरू मलाई लिन मेरो घर आए । घरबाट हिँडेपछि उनीहरूले मलाई इटहरीस्थित मिनाको घरमा पुर्‍याए । इटहरीबाट काठमाडौं हुँदै मियाँ र मोचीसँगै म मुम्बई पुगँ । मुम्बईमा एक महिनाको बसाइपछि मलाई साउदी अरब उडाए । साउदी अरब पुग्दासम्म मैले एक पैसा पनि खर्च गर्नुपरेन ।साउदी पुर्‍याएपछि एक व्यक्तिको घरमा कामदारको रूपमा राखिदिएर मियाँ र मोची हिँडे । काम गर्न थालेपछि सुरु भयो मेरो नारकीय जीवन । दैनिक घरमालिकसँग मात्र होइन, उनका पाहुनासँगसमेत यौनसम्पर्क राख्नुपथ्र्यो । राख्न नमाने ठूलो मानसिक एवं शारीरिक यातना खेप्नुपथ्र्यो । दैनिक ६ जनासम्मले मलाई जबर्जस्ती गर्थे । आधा पेट रोटी खान दिएर उनीहरूले मेरो अस्मिता लुटे । 'यस्तो नगर्नुहोस्, मलाई अरू नै काम लगाउनुहोस्' भन्दा पनि 'तँलाई यसैका लागि यहाँ ल्याएको हो, नमाने मारेर फ्याँकिदिन्छौं' भनेर धम्की दिन्थे ।बिहानदेखि साँझसम्म घरमालिकका कपडा धुने, भाँडाकुँडा माझ्नेलगायतका काम गर्नुपथ्र्यो । राति भएपछि मालिक र उनका पाहुनाले मदिरा पिएर जबर्जस्ती यौनसम्पर्क राख्थे । कहिलेकाहीँ बेहोससमेत हुन्थेँ । बेहोस भएपछि पानी छम्केर होसमा ल्याई फेरि जबर्जस्ती गर्न सुरु गर्थे । काम गर्ने घरमा र वरपर अरू नेपाली कामदार कोही थिएनन् । जति कराए पनि, गुहार मागे पनि मेरो केही नलागेपछि घर, आमा, बुबा र भाइबहिनी सम्झेर रुनुबाहेक केही उपाय थिएन । यौनसम्पर्ककै क्रममा घरमालिकको गर्भ बस्यो । गर्भ बसेकोबारे उसलाई जानकारी थिएन । गर्भवती हुँदासमेत मालिक र पाहुनाले यौनसम्पर्क राख्न छोडेनन् । गर्भवती भएको थाहा पाएपछि मालिकले मलाई मार्ने निर्णय गरेछ । सो कुरा चाल पाएपछि मालिकको घरनजिकैकी छिमेकी एक महिलाको सहयोगमा भागेर म काठमाडौं हुँदै घर आइपुगेकी हुँ । गरिबीको फाइदा उठाएर दलालले मेरो जिन्दगी बर्बाद पारे । दलालले मजस्ता धेरै सुकुम्बासीका छोरीबुहारीलाई साउदी पुर्‍याएर नारकीय जीवन बिताउन बाध्य बनाएका छन् । मिना खड्कालगायत मलाई साउदी पुर्‍याउने दलाललाई तत्काल कडा कारबाहीको माग गर्छु ।

No comments: