News

Nov 27, 2008

नेपाल-भारत दुइ देशको सम्बन्धले नयाँ गतिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परिवर्तित जनचाहनालाई प्रतिविम्बित गर्ने गरी नेपाल-भारत दुइ देशको सम्बन्धले नयाँ गति लिएको उद्घोष गर्दै परराष्ट्रमन्त्री उपेन्द्र यादव र भारतका विदेशमन्त्री प्रणव मुखर्जीले बुधबार १६ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्नुभएको छ। तीनदिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार विदेशमन्त्री मुखर्जी स्वदेश फर्किनुअगाडि सो संयुक्त विज्ञप्ति जारी गरिएको हो। मंगलबार नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सम्पन्न भएको थियो।विज्ञप्तिमा भनिएको छ- दुइ देशका उच्च अधिकारीबीच भएको छलफलले दुवै देशका जनताको परिवर्तित चाहना तथा हितलाई प्रतिविम्बित गर्ने गरी नेपाल-भारत सम्बन्धले नयाँ गति लिएको छ।’गत असोज महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को भारत भ्रमणका बेला दुवै देशका सरकारप्रमुखले जारी गर्नुभएको २२ बुँदे संयुक्त विज्ञप्तिमा उल्लेख गरिएका सीमा-अपराध, सीमासुरक्षा, जलस्रोत, व्यापारलगायतका निर्णय कार्यान्वयनमा आएको विज्ञप्तिमा जनाइएको छ। नेपाल-भारत द्विपक्षीय हितका निम्ति बनेका विभिन्न संयन्त्रलाई पुनः सक्रिय गर्नुका साथै यसलाई निरन्तरता दिनुपर्नेमा परराष्ट्रमन्त्री यादव र विदेशमन्त्री मुखर्जी दुवै सहमत भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा जनाइएअनुसार आउँदो १० वर्षभत्र नेपालले १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूर्ति गर्ने विषयमा द्विपक्षीय लाभको सहकार्यलाई कसरी छरितो बनाउन सकिन्छ भन्ने सम्बन्धमा पनि छलफल गरिएको थियो। कोसीबाँधको पुनर्निर्माण र कोसीनदीलाई पुरानै स्थानमा फर्काउने कार्य आगामी मार्चसम्ममा सकिने जनाइएको छ। नेपालको वर्तमान व्यापारिक वातावरणले यहाँस्थित भारतीय लगानीकर्तालाई नकारात्मक प्रभाव पारिरहेकोमा चिन्ता व्यक्त गर्दै तत्काल प्रभावकारी रूपमा यो समस्यालाई सम्बोधन गर्न विदेशमन्त्री मुखर्जीले आग्रह गर्नुभएको र नेपाल सरकारले भारतीय व्यापारीलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने विश्वास दिलाएको विज्ञप्तिमा जनाइएको छ।

No comments: