News

Nov 26, 2008

यौनउत्तेजक औषधी चाँडै बजारमा आउँने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कम्पनीद्वारा उत्पादित यौनउत्तेजक औषधी चाँडै बजारमा छ्याप्छ्याप्ती हुने भएका छन् । हाल दुई कम्पनीले यौनउत्तेजना बढाउने औषधी बजारमा लगिसकेका छन् भने थप नौ कम्पनीले उत्पादन अनुमति लिएका छन् । गत वर्षसम्म 'सिल्डेनाफिल साइट्रेट' समूहका यौनउत्तेजक औषधीको दर्ता गर्नसमेत औषधी व्यवस्था विभागले अस्वीकार गर्दै आएको थियो । गत वैशाखबाट मात्र यस्ता औषधीको उत्पादन अनुमति दिइएको हो । विभागले खुल्ला गरेलगत्तै एलाइभ फर्मास्युटिकल्स र कोयस्ट फर्मास्युटिकल्सले सो औषधी उत्पादन गरी बिक्री सुरु गरेका छन् । उत्पादनको अनुमति लिने अन्य कम्पनीहरूमा आर्या फर्मास्युटिकल्स, ओम फर्मास्युटिकल्स्, क्युरेक्स फर्मास्युटिकल्स, नेसनल हेल्थ केयर, एसआर ड्रग ल्याब्रोरेटरिज, एलाइभ फर्मास्युटिकल्स, एसियन फर्मास्युटिकल्स, एम्टेकमेड, फर्मास्युटिकल्स कम्पनी अफ नेपाल र डेनेनियम ल्याब्रोरेटरिज छन् । सहिद गंगालाल हृदय केन्द्रको अनुरोधमा सो समूहलाई औषधी उत्पादन गर्न दिने निर्णय गरिएको विभागका वरिष्ठ औषधी व्यवस्थापक नवीनप्रसाद श्रेष्ठको भनाइ छ । 'पल्मोनरी हाइपरटेन्सन' भएका बिरामीका लागि सो औषधी नभई नहुने रहेछ,' उनले भने । श्रेष्ठका अनुसार विभागले २५ र ५० मिलिग्रामको मात्र औषधि उत्पादन गर्ने अनुमति दिएको छ । मुटुरोगीका लागि आवश्यक भएकाले उत्पादनको अनुमति दिइएको भए पनि त्यसको दुरुपयोग भइरहेको विभागका अधिकारीहरू नै स्विकार्छन् । 'त्यो औषधी कहाँ प्रयोग भइरहेको छ, त्यो तपाईंलाई पनि थाहा छ, मलाई पनि थाहा छ,' श्रेष्ठले नयाँ पत्रिकासित भने । पल्मोनरी हाइपर टेन्सनबाहेक यौन उत्तेजना नहुने समस्या रहेकाहरूका लागि चिकित्सकले सो औषधी सिफरिस गर्छन् । वीर अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थले यौन दुर्बलता भएकाहरूलाई 'मिडेग्रा' सिफारिस गर्ने गरेको बताए । 'हामी २५ मिलिग्रामभन्दा पनि थोरैबाट सुरु गर्छौं,' उनले भने ।सिल्डेनाफिल साइट्रेट समूहको औषधीको खतरनाक साइड इफेक्ट हुनसक्ने चिकित्सकहरू बताउँछन् । औषधीले नसा फुलाएर रगतको चाप बढाइदिने हुँदा तत्काल मुटु बन्द हुनसक्ने कायस्थले बताए । 'यौन क्रियाकलाप गर्दागर्दै मर्छन् कति त,' उनले भने, 'मुटुको औषधी 'जिटिएन' खाँदै गरेका बिरामीका लागि त झनै खतरनाक हुन्छ ।'सो औषधीले अनुहार सुनिने, लामो समयसम्म टाउको दुख्ने, आँखा धमिलो देख्नेलगायतका समस्या पनि देखिने गर्छन् । छाती दुखेर नाइट्रेट खाँदै गरेका बिरामीलाई यसले अचानक रक्तश्राव बढाउने चिकित्सकहरूको भनाइ छ । विदेशमा चिकित्सकको सिफारिसबिना सो औषधी बिक्री गर्न पाइँदैन । तर, नेपालमा पहिल्यै सो औषधी सेवन गरेर समस्या भएपछि आउने गरेेको कायस्थले बताए ।'डाक्टरलाई नसोधी पहिल्यै औषधी खाएर समस्या भएपछि क्लिनिकमा आउँछन्,' उनले भने । नेपालमा यौनउत्तेजक औषधीको बजार कति छ भन्नेबारे भने विभाग अनभिज्ञ छ । नेपाल औषधी उत्पादक संघका अध्यक्षसमेत रहेका कोयस्ट फर्मास्युटिकल्सका मालिक उमेशलाल श्रेष्ठ औषधी बजारमा लानुअघि कम्पनीले त्यसको बजार अनुसन्धान नगरेको बताउँछन् । कोयस्ट कम्पनीको २५ मिलिग्रामको मिडेग्राको मूल्य २० रुपैयाँ र ५० मिलिग्रामको मूल्य ३० रुपैयाँ छ ।

No comments: