News

Nov 24, 2008

डा. देवकोटाकी छोरी अपहरणका मुख्य योजनाकार पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरण काण्डका मुख्य योजनाकार फरार अभियुक्त सिद्धार्थ लामा पक्राउ परेका छन् ।अपहरण काण्ड सार्वजनिक भएलगत्तै फरार रहेका मुख्य योजनाकार लामालाई नेपाल प्रहरीले भारतको दार्जिलिङदेखि पिछा गरेर नेपालको सिमानाभित्र पक्राउ गरेको रहस्योद्घाटन भएको हो । प्रहरीका अनुसार प्राप्त सूचनाका आधारमा 'विशेष योजना' बनाएर अभियुक्त लामालाई पछ्याइएको थियो । 'पक्राउ पर्दा उनीसँग पहिचान नखुलेका एकजना अर्का साथी पनि थिए,' प्रहरी स्रोतले नयाँ पत्रिकासँग भन्यो, 'पहिचान नखुलेको उसको साथीका विषयमा पनि अनुसन्धान भइरहेको छ । छिट्टै यस विषयमा खुलस्त हुनेछ ।' लामालाई पक्राउ गर्न प्रहरी निरीक्षक कृष्ण कोइरालाको नेतृत्वमा विशेष टोली खटिएको थियो । टोलिले तीन महिनाको प्रयासपछि लामालाई पक्राउ गरेको हो । गत १९ साउनमा अपहरणमा परेकी डा. देवकोटाकी छोरी मेघा २० साउन बेलुका एक करोड ३० लाख फिरौती बुझाएर रिहा भएकी थिइन् । मेघा रिहा भएलगत्तै प्रहरीले उनलाई अपहरण गरी राखेको बल्खुको घर पहिचान गरी अपहरणमा संलग्न हेमबहादुर मगरलाई पक्राउ गरेको थियो । मगर पक्राउ परे पनि अपहरणमा संलग्न लामासहित राजु थापा, कृष्ण चन्द राई, केशव दर्लामी मगर र गोकुल गिरी फरार भएका थिए । पक्राउ परेका लामालाई गोप्य रुपमा २ नम्बर गणमा राखिएको छ ।

No comments: