News

Nov 25, 2008

निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्यमा आएको गिरावटपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन लागेको हो ।निगमले प्रत्येक महिनाको ३ तारिखमा मूल्य समायोजन गर्ने नीति लिएको छ । सो नीतिअनुसार ३ डिसेम्बरमा पेट्रोलियम पदार्थको मूल्य घट्नेछ । निगम स्रोतका अनुसार, पेट्रोल, डिजेल र मट्टीतेल मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ घटाउने तयारी भइरहेको छ । निगमले कच्चा तेल मूल्यमा आएको कमीसँगै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको थियो भने मट्टीतेल मूल्य कटौती गरेको थिएन । सरकारले ९ कात्तिकमा मूल्य समायोजन गरेर डिजेल र मट्टीतेले मूल्य समान बनाएको थियो । । १६ नोभेम्बरपछि पेट्रोल र डिजेलमा निगमलाई नाफा बढेपछि मूल्य घटाउन लागेको हो । निगमले भारतीय आयल कर्पोरेसनसँग १६ तारिखमा लिएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ, डिजेलमा आठ र हवाई इन्धनमा ३७ रुपैयाँ नाफा भएको छ । निगमले भारतमा पेट्रोलियम पदार्थको मूल्य नघटेकाले तत्काल धेरै अनुपातमा मूल्य कटौती गर्नसक्ने अवस्था नभएको बताइएको छ । भारतमा अहिले पेट्रोल प्रतिलिटर ८५ र डिजेल ६१ रुपैयाँ रहेको छ । भारतमा भन्दा नेपालमा सस्तो भए पेट्रोलियम पदार्थ अपचलन हुने भएकाले भारतको भन्दा कम मूल्य निर्धारण नगर्ने निगमका एक अधिकारीले बताए । सोअनुसार निगमलाई प्रतिमहिना ६० करोड रुपैयाँ नाफा हुने निगमका एक उच्च अधिकृतले जानकारी दिए । ३ तारिखमा आउने मूल्यअनुसार निगमको नाफा अझ बढ्नेछ । अहिले निगमले ७० प्रतिब्यारेल मूल्यमा तेल आपूर्ति गरिरहेको छ ।तर, अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४८ अमेरिकी डलरभन्दा कममा आइपुगेको छ । निगमले एलपी ग्यासमा मात्र घाटा व्यहोर्नुपरेको छ । निगमका अनुसार, एलपी ग्यासमा प्रतिसिलिन्डर तीन सय ६१ रुपैयाँ घाटा छ । निगम स्रोतका अनुसार, आइओसीको अर्को मूल्यअनुसार ग्यासको घाटासमेत कटौती हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा देखिएको मूल्य प्रवृत्तिले ग्यास घाटा डेढ सय रुपैयाँ कम हुने निगमको ठहर छ ।

No comments: