News

Nov 30, 2008

डिजेल र मट्टीतेल मूल्य फरक बनाउन चलखेल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डिजेल र मट्टीतेल मूल्य फरक बनाउन चलखेल सुरु भएको छ । मिसावट गर्ने केही पेट्रोलियम व्यवसायी र निगमको उच्च कर्मचारीको मिलेमतोमा डिजेलभन्दा मट्टीतेल मूल्य कम बनाउने चलखेल सुरु भएको हो । सरकारले गत महिना डिजेल र मट्टीतेल मूल्य समान बनाएको थियो । दुई पेट्रोलियम पदार्थको मूल्य फरक हुँदा मिसावट र अपचलन बढी हुने गरेको थियो । तर, अहिले मिसावट गर्न नपाएका व्यवसायी र निगममा मट्टीतेल अपचलन गरिरहेका केही समूहले मूल्य फरक बनाउन सरकारलाई समेत दबाब दिन थालेको उच्च स्रोतले बताएको छ । अहिले डिजेल र मट्टीतेल मूल्य प्रतिलिटर ६५ रुपैया रहेको छ । निगम उच्च स्रोतका अनुसार, डिसेम्बरमा गरिने मूल्य समायोजनमा पुनः यी दुई पेट्रोलियम पदार्थको मूल्य फरक बनाउन दौडधुप सुरु भएको छ । केही समूहले मूल्य फरक बनाउन लागेको थाहा पाएपछि निगमको दुई कर्मचारी सगठनले मूल्य समान राख्न दबाब दिएको थियो ।नेपाल आयल निगमका दुई कर्मचारी सगठनले मूल्य फरक बनाए आन्दोलन गर्ने चेतावनीसमेत दिएको थियो । सरकारले डिजेल र मट्टीतेल मूल्य समान बनाएपछि डिजेलमा हुने मिसावट रोकिएको छ भने औद्योगिक क्षेत्रमा बोइलरमा मट्टीतेल प्रयोग हुन छाडेको छ । मूल्य समान भएपछि मट्टीतेल खपतसमेत आधाले कम भएको छ । निगमका अनुसार, अहिले मासिक पाँच हजार किलोलिटर मात्र मट्टीतेल खपत भएको छ । डिजेल र मट्टीतेल मूल्य फरक हुँदा मट्टीतेल खपत मासिक १० हजार किलोलिटर हुने गरेको थियो । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डे डिजेल र मट्टीतेल मूल्य फरक बनाउन नहुने बताउँछन् । 'डिजेल र मट्टीतेल मूल्य फरक बनाउनु न्यायसंगत हुँदैन', उनले भने, 'त्यसो गरिए उपभोक्ता र सरकार दुवैलाई नोक्सानी हुनेछ ।' एसोसिएसनले डिजेल र मट्टीतेल मूल्य समान बनाउन आन्दोलनसमेत गर्दै आएको उनले जानकारी दिए । 'हामीले स्वच्छ व्यवसायका लागि डिजेल र मट्टीतेल मूल्य समान बनाउन आन्दोलन गरेका थियौं', पाण्डेले भने, 'सरकारले केही समूहको दबाबमा परेर मूल्य फरक बनाए यसले नकारात्मक परिणाम ल्याउँछ ।' तर, निगमका अधिकारी भने डिजेल र मट्टीतेल मूल्य समान रहने दाबी गर्छन् । निगमका कार्यकारी निर्देशक दिगम्बर झाले डिजेल र मट्टीतेल मूल्य समान बनाइने स्पष्ट पारे । 'हामीले १ तारिखको मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दैछौं', उनले भने, 'तर डिजेल र मट्टीतेल मूल्य समान रहनेछ ।' उनले डिजेल र मट्टीतेल मूल्य फरक बनाउन आफूलाई कुनै दबाब नआएको समेत स्पष्ट पारे । 'मलाई अहिलेसम्म कुनै दबाब आएको छैन', झाले भने, 'माथिल्ला निकायमा परेको भए अर्कै कुरा ।'

No comments: