News

Jan 8, 2010

पूर्वराजा वीरेन्द्रको सम्पत्ति खोजबिन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २३ ,तत्कालीन राजदरबारले लन्डनस्थित एक कम्पनीलाई पठाएको रकमको खोजी सुरु गरिएको छ । यसको खोजी नेपाल ट्रस्टले गर्न थालेको हो ।तत्कालीन राजदरबारले वि.सं. २०५९ फागुन २८ गते लन्डनस्थित पीएस वेल्स एन्ड कम्पनीलाई उसको इन्भेस्टर बैङ्क लिमिटेडमा रहेको खाता नं. ६२९१०१ मा सोही दिनको विनिमय दरअनुसार एक करोड ३७ लाख ३६ हजार २८६ रुपियाँ बराबरको बि्रटिस पाउन्ड जम्मा गरेको तथ्य ट्रस्टले पछिल्लो पटक फेला पारेको छ । सो रकम नेपालस्थित स्ट्यान्डर्ड चार्टर्ड बैङ्क लिमिटेडमार्फत त्यहाँ पठाइएको थियो । रकम त्यहाँ पठाइएको सो दिन तत्कालीन सरकार र तत्कालीन नेकपा -माओवादी) बीच युद्धविराम गर्ने सहमति भएको थियो ।ट्रस्टका सचिव दिनेशहरि अधिकारीले सो रकम कुन प्रयोजनका लागि लन्डन पठाइएको थियो भन्नेबारेमा खोजबिन सुरु गरिएको जानकारी दिँदै भन्नुभयो, "प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयमार्फत खोजबिनको प्रक्रिया अघि बढाएका छौँ । ती निकायबाट खोजबिनको प्रक्रिया सकारात्मक रूपले अगाडि बढिरहेको जानकारी पाएका छौँ ।"ट्रस्ट यतिबेला पूर्वराजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको चल, अचल सम्पत्तिको खोजीमा व्यस्त छ । ट्रस्टले हालसम्म विभिन्न जिल्लामा गरी तीन हजार छ सय रोपनी जग्गा खोजबिनबाट पत्तो लगाइसकेको छ । यसरी खोजबिन गरिएका कतिपय जग्गामा शिक्षण संस्था, अस्पताललगायत निर्माण गर्न विभिन्न संस्थाले माग गर्ने क्रम पनि बढेको छ ।तर यसरी ट्रस्टको स्वामित्वमा आएको जग्गा अन्यलाई हस्तान्तरण गर्न सकिने स्थिति नरहेको बताउँदै उहाँले भएको सम्पत्ति दिँदै जाने हो भने ट्रस्टको उद्देश्य पूरा हुन नसक्ने स्पष्ट गर्नुभयो । ट्रस्टले प्राप्त गरेका पूर्वराजाका सम्पत्तिको व्यवस्थापन गरी त्यसबाट आर्जन हुने रकमलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ । साथै ट्रस्टको स्वामित्वमा आएका सम्पत्तिलाई व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिबाट सहमति लिनुपर्ने भएकाले अन्यलाई हस्तान्तरण गर्न पनि त्यति सजिलो छैन ।प्राप्त जग्गामध्ये काठमाडौँ उपत्यकाभित्र करिब तीन हजार ३६० रोपनी, काभ्रे, नुवाकोट तथा धनकुटामा करिब २७० रोपनी र मकवानपुरको हेटौँडामा करिब एक बिघा १९ कट्ठा रहेको छ ।

No comments: