News

Jan 2, 2010

माओवादीले १३ बाट घटाएर गणराज्य संख्या ६ वटा मात्र बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १८- एकीकृत माओवादीले १३ बाट घटाएर गणराज्य संख्या ६ वटा मात्र बनाउने सम्भावना बढेको छ। तेस्रो चरणको आन्दोलनकै क्रममा उसले गत महिना १३ गणराज्य घोषणा गरेको थियो।एकीकृत माओवादीको जारी केन्द्रीय समितिले गणराज्यको खाका सीमासहित टुंगो लगाउने जनाइएको छ।'आर्थिक सामर्थ्यका हिसाबले कसरी प्रदेश बनाउँदा प्रभावकारी हुन्छ? भनेर विभिन्न सुझाव आएका छन्,' कार्यदलका सदस्यसमेत रहेका गोपाल किरातीले भने, 'अझै समय छ, छलफल जारी रहने नै भयो।' उनका अनुसार ६ वटा बनाउने प्रस्तावहरु पनि आएका छन्।आर्थिक सक्षमता र सबै दृष्टिकोणले हेर्दा साना राज्य बनाउँदा अप्ठेरो पर्ने हो कि भनेर गणराज्य संख्या घट्ने सम्भावना बढेको हो। पोलिटब्युरो बैठकमा राज्य पुनर्सरचना कार्यदलका संयोजक देव गुरुङले आएका सुझावका आधारमा कार्यदलको अवधारणा प्रस्तुत गरेका थिए।अहिले घोषणा गरिएका गणराज्यमध्ये दुई वा तीनवटालाई मिसाएर एक एक गर्दै थोरै बनाउने कि भन्ने प्रस्ताव पनि आएको कार्यदलका एक सदस्यले बताए। '६ वटा बनाउने कि भन्ने सुझाव' आएको कार्यदलका एक सदस्यले बताए।उनका अनुसार यसअघि घोषणा गरिएका सेती-महाकाली, भेरी-कर्णाली र भोट स्वायत्त गणराज्यलाई मिसाएर खसान-जडान बनाइने छ। जसमा भोटे जातिको स्वायत्तता दिइने छ। जाडो क्षेत्रमा बस्नेलाई जडान भन्ने चलन छ। किरात, लिम्बुवान र शेर्पा मिसाएर किरात-लिम्बुवान बनाइने छ। शेर्पालाई स्वायत्तता दिइने छ। नेवा र ताम्सालिङ मिसाएर नेवा-ताम्सालिङ, मगरात र तमुवान मिसाएर मगरात-तमुवान बनाइने छ। मधेस र कोचिला मिसाएर मधेस बनाइने छ। पर्सादेखि झापासम्म मधेस रहने राज्यमा कोचिला स्वायत्तता रहने छ। यसैगरी, नारायणीदेखि कन्चनपुरसम्म थारुवान् स्वायत्त गणराज्य प्रस्ताव गर्नेछ।
माओवादीको संभावित गणराज्य
१ भेरी-कर्णाली, सेती-महाकाली र भोट स्वायत्त मिसाएर खसान-जडान स्वायत्त गणराज्य
२ मगरात र तमुवान मिसाएर मगरात-तमुवान
३ लिम्बुवान, शेर्पा, किरात मिसाएर किरात-लिम्बुवान
४ ताम्सालिङ र नेवा मिसाएर नेवा-ताम्सालिङ
५ थारुवान
६ मधेस र कोचिला मिलाएर मधेस

No comments: