News

Jan 9, 2010

हत्याको विरोधमा माओवादीले ताप्लेजुङ १३ दिनदेखि बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम, पुस २६, कार्यकर्ता हत्याको विरोधमा एकीकृत माओवादीले ताप्लेजुङ १३ दिनदेखि बन्द गरेको छ। माओवादीले लामो समयसम्म जिल्ला ठप्प पारिदिँदा सर्वसाधारण सर्वाधिक मारमा परेका छन्। लामो समयको बन्दले बजार नखुल्दा लाखौं घाटा भएको छ भने दैनिक उपभोग्य सामग्रीको अभाव हुँदै गएको छ। बन्द नखुल्दा जनताले चिनी, चामल, तेललगायतका अत्यावश्यकीय दैनिक उपभोग्य सामग्री उपभोग गर्न पाएका छैनन्। बन्द लम्बिरहँदा खाद्य संकट गहिरिँदै गएको उद्योग वाणिज्य संघले जनाएको छ। अज्ञात समूहद्वारा मारिएका कार्यकर्ताका दोषीलाई कारबाही गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग माओवादीको छ। तर, केही दिनअघि सरकारी कार्यालय तोडफोडमा उत्रिएका १२ कार्यकर्ता प्रहरीले गिरफ्तार गरेपछि माओवादीले पुरानो मागसँगै कार्यकर्ता रिहाइको माग पनि थपेको छ। प्रशासनका अनुसार उनीहरुलाई रिहाइ नगरेसम्म वार्ता नगर्ने माओवादीले जनाएको छ। सोमबार सरकारी कार्यालय तोडफोड गरेपछि प्रहरीले उसका १२ कार्यकर्ता पक्राउ गरेको थियो। ती कार्यकर्तालाई रिहाइ नगरेसम्म वार्तामा पनि नबस्ने र बन्द पनि नखोल्ने अडान माओवादीले राखेको छ। 'पटक-पटक वार्ताका लागि बोलायौंैं,' जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत खड्का भनछन्, 'तर, माओवादी वार्तामा बस्न चाहेन।' खड्काका अनुसार अघिल्ला केही दिनमा भएका वार्तामा पनि माओवादीले कार्यकर्ता रिहाइ नगरेसम्म बन्द नखोल्ने अडान लिएको थियो। मेची अञ्चल प्रहरी प्रमुख रवि श्रेष्ठका अनुसार तोडफोडमा उत्रिएका माओवादी जिल्ला सचिव खेलप्रसाद बुढाक्षेत्रीसहितका १२ कार्यकर्तालाई सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा दायर गरी कारबाही थालिएको छ। जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय तोडफोड गर्ने क्रममा श्रेष्ठको नेतृत्वमा रहेको प्रहरीले माओवादी कार्यकर्ता पक्रेको थियो। प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयको आदेशमा उनीहरुविरुद्व मुद्दा दायर गरिएको हो। एक वर्षको अवधिमा अज्ञात समूहले माओवादीका कार्यकर्ता लगम लिम्बू, लक्ष्मी बनेम र राजेन्द्र लिम्बूको हत्या गरेको थियो। कार्यकर्ता हत्याको विरोधमा माओवादीले केही दिनयता पाँचथर र इलाम जिल्ला पनि बन्द गर्दै आएको छ। ताप्लेजुङकी सञ्चारकर्मी माला राईका अनुसार बन्दको असर गहिरिँदै गए पनि माओवादी गम्भीर बनेको छैन। 'बन्द खोल्न नागरिक समाज र सञ्चारकर्मीहरुले धेरै आग्रह गरे,' राईले भनिन्, 'तर, माओवादीले वास्तै गरेन।'

No comments: