News

Jan 9, 2010

मातृकाप्रसाद यादव र जगतप्रसाद यादवको सभासद् हैसियत समाप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २६ एकीकृत माओवादी परित्याग गरी पुरानै माओवादी पार्टीको पुनर्गठनमा लागेका मातृकाप्रसाद यादव र जगतप्रसाद यादवको सभासद् हैसियत समाप्त भएको छ। शनिबार संविधानसभामा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई सभासद्को सदस्यता समाप्तीको जानकारी गराएका हुन्।तत्कालीन नेकपा माओवादी एकीकृत नेकपा माओवादीमा परिणत भएको अवस्थामा दलको निर्णय अस्वीकार गरेको, एकीकृत माओवादीले निष्कासन गरिसकेको र सो पद रिक्त भएको घोषणा गरिदिन लेखी आएको र जाँचबुझ गर्दासमेत संविधानसभा नियमावलीको नियम १३९ को अवस्था विद्यमान रहेकाले सदस्यता रिक्त भएको नेम्वाङले बताए। धनुषाका मातृका र सिराहाका जगत समानुपातिकतर्फका सभासद् हुन्। सो पदमा निर्वाचन आयोगमा समानुपातिकको सूचीमा पेस गरेका नाममध्येबाट मधेसी समूहका २ जनालाई सभासद्मा मनोनीत गर्न माओवादीलाई बाटो खुलेको छ। उपसमितिले तयार गरेको प्रतिवेदनमा नयाँ दल खोलेको देखिएकाले सभासद् खारेज हुने उल्लेख थियो। उपसमितिको प्रतिवेदन र कार्यव्यवस्था परामर्श समितिको पुस १२ गतेको बैठकको परामर्शका आधारमा पद खारेज गर्ने निष्कर्षमा पुगेको नेम्वाङले सदनलाई जानकारी दिए।सभासद् पद खारेजीबाट रोक्नको लागि अन्तरिम आदेशको माग गर्दै मातृका यादवले बुधबार सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। मुद्दामा यादवको दाबी छ, 'मैले दल त्याग गरेको पनि छैन, कुनै नयाँ दल गठन गरेको छैन, अर्को दलमा आवद्ध भएको पनि छैन, प्रचलित कानूनबमोजिम दलत्याग मानिने कुनै कार्य गरेको अवस्था पनि हैन।'सदस्यता समाप्त भएको घोषणा भएपछि नागरिकलाई प्रतिक्रिया दिंदै नेकपा माओवादीका संयोजक मातृकाप्रसाद यादवले भने, 'अदालतले रोक्न भन्ने डरले शनिबारै बैठक बोलाएर पद खारेजीको सूचना सुनाइएको छ।' पद खारेजी असंवैधानिक भनेर अदालतमा गएकाले त्यहाँबाट न्याय पाउने आशा उनले व्यक्त गरे। 'ठूला दल भन्नेहरू देश र जनताप्रति इमान्दार छैनन्, हामी संविधानसभामा रहेमा उनीहरूका क्रियाकलाप उजागर हुन्छ भन्ने डरले हटाइएको हो', यादवले भने। ठूला दलहरूको मिलेर खाने कुरामा एकमत भएको आरोप लगाउँदै उनले पद खारेजीबारे कानून व्यवसायीसँग सल्लाह गरेर अघि बढ्ने उनले बताए। सदनमा बस्न नदिए पनि जनतामा जानबाट कसैले रोक्न नसक्ने बताउँदै यादवले भने, 'अन्तिम शक्ति जनता भएकाले सबै कुराको अन्तिम फैसला त्यहींबाट हुनेछ।'मातृकाप्रसाद यादवले माओवादी र जनमोर्चाबीच भएको पार्टी एकतालाई अस्वीकार गर्दै २०६५ माघ २९ मा पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पुरानै नेकपा माओवादीको पुनर्गठनमा लागेका थिए। उनीसँगै अर्का सभासद् जगतप्रसाद यादवले पनि एकीकृत माओवादी परित्याग गरेका थिए।मातृकाप्रसाद यादव पुनर्गठित नेकपा माओवादी केन्द्रीय तदर्थ समितिको संयोजक छन्। अर्का सभासद् जगतप्रसाद यादव पनि उनी सँगै सोही पार्टीको जनसुरक्षा समितिको केन्द्रीय इञ्चार्ज रहेका छन्। ०६६ साउन १५ गतेको एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकले यादवद्वयलाई सभासद्बाट हटाउने निर्णय गरी 'संविधानसभाबाट हटाइएको' व्यहोराको पत्र साउन १९ मा सचिवालयमा दर्ता गरेको थियो।

No comments: