लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/हङकङ
पुस २१ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल अचानक पुस २३ गते हङकङ आउँदैछन्। साढे तीन महिनाअघि पनि दाहाल अचानक हङकङ आएर तीन दिन बसेका थिए। हङकङका माओवादी नेता पूर्ण लोकसमका अनुसार दाहाल पार्टीको आन्तरिक प्रशिक्षणका लागि आउन लागेका हुन्। "पार्टीको महत्वपूर्ण काम छ, हामीले नै बोलाएका हौँ", लोकसमले भने। दाहालसँग माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा पनि आउँदैछन्। स्थानीय समय बिहान ६.४० मा ड्रागन एयरबाट हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने दाहाल र महरा दिनभर यहाँ बिताएर साँझ ५.३५ बजे सोही एयरबाट फर्कने कार्यक्रम छ।हङकङमा बिताउने करिब ११ घण्टामध्ये ९ देखि साढे ११ बजेसम्मको डेढ घण्टा नेपालीहरूको सावर्जनिक भेलामा सम्बोधनका लागि छुट्याइएको छ। बाँकी समय आन्तरिक छलफल र प्रशिक्षण रहेको लोकसमले बताए। यहाँ माओवादीको जिल्ला स्तरीय कमिटी छ।पहिलो पटक भदौ २९ गते महरा र विदेश विभाग सदस्य मनोजजंग थापासँग हङकङ आउँदा आन्तरिक कार्यक्रमका लागि भनेर दाहाल तीन दिन बसेका थिए। त्यसको डेढ महिनापछि कात्तिकमा दाहालले पार्टीको तर्फबाट पहिलो औपचारिक चीन भ्रमण गरेका थिए। त्यसक्रममा चिनियाँ राष्ट्रपति हु जिन्ताओ सहित कम्युनिष्ट पार्टीका उच्च नेताहरूसँग भेटघाट भएको थियो।उपचारका लागि सिंगापुर लगिएका नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न मंसिरमा महरासँग दाहाल सिंगापुरमै पुगेका थिए। त्यहाँ उनले दिल्लीको संस्थापन पक्ष निकट मानिने कुटनीतिज्ञ प्राध्यापक एसडी मुनीलाई भेटेका थिए। हालै एक अन्तर्वार्तामा दाहालले लण्डन र सिंगापुरमा दिल्लीका दूतसँग कुराकानी भएको खुलासा गरेका छन्।दिल्लीसँग सिधै वार्ता गर्ने उद्घोष गरेको डेढसातापछि तथा प्रधानमन्त्री माधवकुमार नेपाल चीन भ्रमण सकेर फर्के लगत्तै हुन लागेको दाहालको हङकङ भ्रमण अर्थपूर्ण मानिएको छ।
No comments:
Post a Comment