News

Jan 3, 2010

आदिवासी/जनजाति बृहत मोर्चा, नेपालको नेपाल बन्द पूर्ण सफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
आदिवासी/जनजाति बृहत मोर्चा, नेपालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, आत्मनिर्णयको अधिकार, जातीय स्वायत्तता र स्वशासन राजनीतिक अग्राधिकार, धर्मनिरपेक्षता, आदिवासी/जनजातिहरुको सामुहिक पहिचान, राज्यका सम्पूर्ण अङ्गहरुमा आदिवासी/जनजातिहरुको समानुपातिक प्रतिनिधित्व, र आदिवासी/जनजातिहरुका हक-अधिकारहरु भावी संविधानमा सुनिश्चित गराउनु पर्ने लगायतका मागहरु राखेर नेपाल सरकारसमक्ष ज्ञापन पत्र बुझाई संवाद धर्ना र चक्काजाम गर्दा पनि कुनै सुनुवाई नभएपछि पहिलो चरणको आन्दोलनको आखिरीमा पुष १७ गते प्रथम पटक गरेको नेपाल बन्द विभिन्न दवाब, धम्की, चुनौती र षडयन्त्रहरुका बावजुत पनि पूर्ण सफल भएको जनाएको छ । मोर्चाको उक्त शान्तिपूर्ण आन्दोलनमाथि पनि राज्यले प्रहरी हस्तक्षेप गरी ४० जनाभन्दा बढी आदिवासी/जनजाति बृहत मोर्चा, नेपालका नेता तथा कार्यकर्ताहरुलाई धरपकड गरी गिरफ्तार गरेकोमा सो कार्यको घोर निन्दा एवम् भत्स्रना गरेको छ । पक्राउ गरिएका सम्पूर्ण व्यक्तिहरुको विनाशर्त तुरुन्त रिहाई हुनपर्ने र रिहा नगरिएमा आदिवासी/जनजाति विरोधी सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने जानकारीसमेत बन्दको समापन लगतै जारी गरिएको एक प्रेस विज्ञप्तिमा उल्लेख छ । मोर्चाले पुस १७ गते गरेको नेपाल बन्दको अघिल्लो दिन १६ गते साँझ शान्तिवाटिका रत्नपार्कमा हजारौं नेता तथा कार्यकर्ताहरु जम्मा भई बागबजार पुतलीसडक र प्रदर्शनीमार्गहुँदै भृकुटीमण्डप पुरानो बसपार्कमा पुगी कोणसभामा परिणत भएर समापन गरिएको थियो । सो राँके जुलुशको शुभाराम्भमा मोर्चाको तर्फबाट नेवाः देय दबूका अध्यक्ष नरेशकुमार ताम्राकारले सम्बोधन गर्नुभएको थियो भने अन्त्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदका महासचिव सूर्य माखिमले सम्बोधन गरी अन्त्य गर्नुभएको थियो । यसैगरी, राँके जुलुश लिम्बुवानको दमकलगायत अन्य ठाउँमा पनि गरिएको थियो ।सयभन्दा बढी आदिवासी/जनजातिसम्वद्ध राजनीतिक संगठन, जातीय संगठन र संघसंस्था तथा गैर सरकारी संस्थाहरुसमेतको सहभागिता रहेको उक्त मोर्चाले गरेको नेपाल बन्दको समापन प्रत्येक ठाउँमा खटिएका नेतृत्वहरुद्वारा सम्बोधन गरी गरिएको थियो । आदिवासी/जनजाति बृहत मोर्चा नेपाले उक्त नेपाल बन्द कार्यक्रमलाई भब्यतापूर्वक सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण आदिवासी/जनजातिहरु, संघ संस्था, राजनीतिक व्यक्ति एवम् विभिन्न वर्ग, जाति, लिङ्ग, क्षेत्र, पेशा र व्यवशायका जनसमुदाय सबैमा हार्दिक आभार व्यक्त गरेको छ । र, भविष्यमा पनि यस्तै सहयोग एवम् समर्थन पाइरहने अपेक्षा गरेको छ । साथै, सारकारबाट मागहरुको सुनुवाई र सम्बोधन नहुने निश्चित भएकोले दोस्रो चरणको संघर्षको कार्यक्रम पनि छिट्टै नै सार्वजनिक गर्ने समेत जनाएको छ ।

No comments: