लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, पुस २५- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डा.बाबुराम भट्टराईले शनिबार बिहान विराटनगरमा एउटै मञ्चबाट दुबै नेताबीच कुनै मनमुटाव नरहेको सन्देश दिएका छन्। भारतले बाबुरामलाई प्रधानमन्त्री बनाउन खोजेको दाहालको भनाई सार्वजनिक भएपछि दुबै नेताबीच सम्बन्ध चिसिएको खबरहरु आइरहेको बेला माओवादीको कोचिला राज्यस्तरीय कार्यकर्ता प्रशिक्षणमा शनिबार बिहान दुबै नेतासंगै उपस्थित भएर आफूहरुविच मनमुटाव नरहेको सन्देश दिने प्रयास गरेका छन्। माओवादी अध्यक्ष दाहाल इन्सेकको कार्यक्रममा सहभागी हुन आएका अन्य दलका शीर्ष नेतासँगै शुक्रवार काठमाण्डौं नफर्किएर विराटनगरमै बसेका थिए। धनकुटाको कार्यक्रममा सहभागी हुन बिहीबार साँझ आएका भट्टराई शनिबार बिहानै विराटनगर आइपुगेका थिए।नेपाल प्राध्यापक संगठनको शनिवार साढे ८ बजे हुने कार्यक्रमका प्रमुख अतिथी बनाइएका डा.भट्टराई निर्धारित समयभन्दा तीनघण्टा ढिलो पुगेका थिए। ‘समय हामीलाई दिनुभएको थियो, तर अचानक अर्को कार्यक्रममा जानु परेकाले ढिलो भयो' संगठनका एक पदाधिकारीले कार्यक्रममा उपस्थितहरुलाई रोक्न बारम्बार उद्घोषण गरेका थिए। श्रोतका अनुसार दाहाल र भट्टराईलाई एउटै मञ्चमा ल्याउन कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रबार राती तय गरिएको थियो। दाहाल र भट्टराई सहभागी प्रशिक्षण कार्यक्रमका विषयमा विराटनगरका पत्रकारलाई कुनै जानकारी दिइएको थिएन्। प्रशिक्षण कार्यक्रममा दुबै नेताले कुरै नबुझेर अनावश्यक ढंगबाट प्रचार गरेर पार्टी विभाजन गराउने षड्यन्त्रप्रति आफुहरु सचेत रहेको स्पष्टोक्ति दिए। दुवै नेताले आफुहरुबीच कुनै प्रकारको बैचारिक, सैद्धान्तीक र कार्यनीतिक विवाद नरहेको भन्दै कार्यकर्तालाई विश्वस्त पार्ने प्रयास गरेको सहभागि एक माओवादी कार्यकर्ताले बताए। राज्य समिति सदस्यहरुका लागि मात्र प्रवेश खोलिएको प्रशिक्षण कार्यक्रममा माओवादी अध्यक्ष दाहालले खन्ना गार्मेन्टमा सांस्कृतिककर्मीहरुलाई दिएको प्रशिक्षणलाई आधार बनाएर संचारमाध्यमहरुले पार्टीमा नेताहरुबीच मतभेद रहेको भ्रम फैलाउने प्रयास गरेको आरोप लगाए। ‘मैले बोलेको केही अंश मात्र प्रचारमा ल्याइयो', प्रशिक्षण कार्यक्रममा दाहालले बोलेको कुरा उर्द्धत गर्दै सहभागि एक नेताले नागरिकसँग भने,‘पार्टीबाट प्रधानमन्त्री को हुने बिषय उचालेर विवादमा ल्याई विदेशीहरुले चलखेल गर्न खोजेको छ।'दाहालले कतिपय राष्ट्रका प्रतिनिधिहरुले आफुलाई र कतिपय प्रतिनिधिले डा. भट्टराईलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्ने बिषय आउनथालेपछि पार्टीले सचेततापुर्वक निर्णय लिएर बिदेशी हस्तक्षेपलाई अस्वीकार गरिदिएको बताए। ‘पार्टीभित्र हरेकपटक चल्ने अन्तरविरोधबाट माओवादीले नयाँ गति प्राप्त गर्दै आएको छ', दाहालले कार्यकर्तालाई भने,‘पार्टीभित्र चल्ने अन्तरविरोधलाई अन्यथा बुझ्नु गलत हो।'प्रशिक्षणमा माओवादी उपाध्यक्ष डा. भट्टराईले खन्ना गार्मेन्टमा अध्यक्षले दिएको अभिव्यक्तिबारे केन्द्रीय समितिमा छलफल भई टुंगो लागिसकेको कार्यकर्तालाई जानकारी दिएको बुझिएको छ। भट्टराईले अध्यक्ष र आफुबीचमा कुनै विवाद नभएको भन्दै मिडियामा आउने समाचारबाट प्रभावित नहुन र एकतावद्ध भई आन्दोलनमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए।
No comments:
Post a Comment