लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला संयोजक र माओवादी अध्यक्ष प्रचण्ड तथा एमाले अध्यक्ष झलनाथ खनाल सदस्य रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ।सो संयन्त्रले हाल जारी राजनीतिक गतिरोध अन्त्य गरी समयमै नयाँ संविधान र शान्ति प्रकृयाको टुंगो लगाउन काम गर्ने बताइएको छ।चुलिदै गएको राजनीतिक संकट अन्त्य गर्न ‘निकै प्रभावकारी हुने आशा देखाइएको’ तीन ठूला पार्टीका प्रमुखहरुको सो संयन्त्र लामो कसरतपछि गठन भएको हो। कोइराला निवासमा शुक्रबार भएको एउटा शीर्ष बैठकले सो संयन्त्र बनाएको हो। शीर्ष बैठकबाट निस्केपछि कांग्रेस नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाललाई दुई छेउ राखेर प्रचण्डले भने, “यो महत्वपूर्ण निर्णयले शान्ति, संविधान र गतिशिलताको निम्ति नयाँ आत्मविश्वास र नयाँ उर्जा प्राप्त हुने विश्वास लिएका छौँ।” यसअघि साउन १७ गते बसेको तीन दलको शीर्ष बैठकले पनि एउटा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सहमति गरेको थियो।तर सोही दिन साँझ केन्द्रिय समितिको बैठकपछि माओवादी नेताहरुले ‘नागरिक सर्वोच्चताको आफ्नो माग पुरा हुने आधार तयार नभएसम्म संयन्त्रको औचित्य नहुने’ जनाएपछि सहमति तुहिएको थियो। वर्तमान सरकारको विकल्प खोज्ने गाईँगुईँ चलिरहेका बेला नयां संयन्त्र बनाईएको हो। कांग्रेस उपसभापति पौडेलले भने, “संयन्त्रले सरकार पनि बनाउँदैन, त्यो समानान्तर शक्तिकेन्द्र पनि बन्दैन।”तर माओवादी वर्तमान सरकारको अस्तित्व स्वीकार्न तयार देखिंदैन। त्यसैले विश्लेषकहरु भन्छन्, “दुई पक्षमध्ये कुनै एकले आफ्नो अडान नछाड्ने हो भने आठ महिनासम्म हुन नसकेको सहमति नयाँ संविधान लेख्न बाँकी रहेको छोटो समयमा भैहाल्ने चमत्कारको आशा गर्ने ठाउँ देखिंदैन।”
No comments:
Post a Comment