लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २६,अन्तरिम संविधानले ग्यारेन्टी गरेको संघीयताको विरोध गर्ने संविधानसभामा प्रतिनिधित्व गर्ने एक मात्र दल राष्ट्रिय जनमोर्चाले आइतबार उपत्यका बन्द आह्वान गरेको छ। बन्दको बेवास्ता गर्दै गाडी चलाएको भन्दै बिहान सबेरै जनमोर्चा कार्यकर्ताहरुले कम्तिमा ६ वटा गाडीमा तोडफोड गरेका छन। जनमोर्चाका कार्यकर्ताहरुले वाफल ताहाचलमा सोल्टी होटलको बा १ क ४६५० नम्बरको बसलाई तोडफोड गरी आगो लगाइदिएका थिए। त्यसैगरी बालाजुमा बा १ ज ९०४७ र बा १ ज ७२०० नम्बरका दुई ट्याक्सी, डिल्लीबजारमा बा १ ज ४७११ नम्बरको ट्याक्सी र ललितपुरको कुमारीपाटीमा बा १ ख ७०५१ नम्बरको ट्रकमा तोडफोड भएको प्रहरीले जनाएको छ। बन्दका कारण सार्वजनिक यातायातका साधनहरु ठप्प रहेका छन्। मुख्य बजारमा पसलहरु बन्द रहे पनि भित्री स्थानमा पसलहरु खुला रहेका छन्।राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा गरिरहेको चरणवद्ध आन्दोलन गरिरहेको छ। यसअन्तर्गत तीन तीन दिनमा दुई अञ्चल बन्द गर्ने क्रममा उसले आइतबार उपत्यका बन्दको आह्वान गरेको हो।संघीयताको विषयलाई लिएर विगत १० दिनमा उपत्यकामा भएको यो दोस्रो बन्द हो। यसअघि संघीयताको ग्यारेन्टी गर्न माग गर्दै पुस १७ गते आदिवासी जनजाति वृहत् मोर्चाले बन्दको आह्वान गरेको थियो।काठमाडौँ उपत्यका र वरपरका स्थानलाई एकपक्षीय रुपमा 'राज्य घोषणा' गरेको नेवाः राज्य संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले बन्दलाई असफल पार्न आह्वान गरिएको पर्चा काठमाडौँका विभिन्न स्थानमा बाँडेका थिए। उनीहरुले बन्दको प्रतिकार गर्ने बताएका छन्।
No comments:
Post a Comment