लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एन्गोला/ दुई आतंककारीले अफ्रिकन कप फुटबल च्याम्पियनसिपमा सहभागी हुन आएको टोगोको राष्ट्रिय फुटबल टोलीमाथि शुक्रबार आक्रमण गरेको छ । आधुनिक हतियारका साथमा आएका ती आतंककारीले बसमा सवार टोलीमाथि गोली प्रहार गर्दा बसचालकको मृत्यु भएको छ । टोलीका आठ सदस्य घाइते भएको एजेन्सीले जनाएका छन् । टोलीका डिफेन्डर सेर्गे एकाक्पो, गोलरक्षक ओबिलाले कोस्सी, आस्टोनभिल्लाबाट खेल्ने मोस्टफा सालिफु घाइते भएका छन् । यसैगरी सहायक म्यानेजर, चिकित्सक तथा एक पत्रकारलाई पनि चोट लागेको छ । आक्रमणमा पहिलो सिकार बसचालक भएका थिए । निकै नजिकबाट आक्रमणकारीले बसचालकको छातीमा गोली प्रहार गरेका थिए । गोली लागेको सात मिनेटपछि नै उनको मृत्यु भएको थियो । एन्गोलाको राष्ट्रिय टोलीमाथि ज्यान लिने आक्रमण भए पनि टोगोका खेलकुदमन्त्री गोन्चाभेल्स मुएन्डुम्बाले प्रतियोगिता नरोकिने बताएका छन् । तर, खेलाडी सुरक्षाको दृष्टिकोणले प्रतियोगितालाई तत्कालै रोक्नुपर्ने सहभागी टोलीहरूले माग राखेका छन् । दक्षिण अफ्रिकन १६ राष्ट्रबीच हुने प्रतियोगिता आइतबारदेखि सुरु हुँदै छ । निर्धारित तालिकाअनुसार पहिलो खेल नै एन्गोला र टोगोबीच छ । एन्गोलाबाट ६ माइल टाढा बोर्डर क्षेत्रमा आतंककारीले एक्कासि हमला गरेको टोगोका कप्तान इमानुएल एडबायोरले बताए । म्यानचेस्टर सिटीका समेत खेलाडी इमानुएललाई कुनै चोट लागेको छैन । इमानुएल अहिले पनि घटनाबाट बाहिर आउन सकिरहेका छैनन् । 'गोलीको आवाज सुन्दा निकै डराएका थियौँ,' घटनाको बयान गर्दै इमानुएलले भने, 'करिब २० मिनेट बसको कुर्सीमुनि लुकेर ज्यान जोगाउन सफल भयौँ ।' उनका अनुसार माक्स छोपेर आएका आतंककारीसँग अत्याधुनिक हतियार थियो । 'सीधै हामीमाथि लक्षित गरेर उनीहरूले गोली चलाए,' उनले भने, 'तब हामीले केही पनि सोचेनौ र भगवान्सित प्रार्थनामात्र गरिरह्यौँ ।' भगवान्ले सबै टोली सकुशल बाँच्न सफल भएको उनले बताए ।'दोस्रो जीवन पाउँछु भनेर मैले विश्वास नै गरेको थिएनँ,' घटना सम्झदै मलिन स्वरमा इमानुएलले भने, 'उफ ! मृत्युको नजिक पुगेर बाच्यौँ, यो सपना हो कि विपना ।' सुरक्षाकर्मी चनाखो भएर आतंककारीविरुद्ध भिडेका कारण टोली सुरक्षित भएको उनले बताए । 'जे भएनि हामीले पुनर्जन्म पाएका हौँ,' उनले भने । मानवअधिकारीवादीले यस घटनाको चर्को विरोध गरेका छन् । न्युर्योकको मानवअधिकार समूहले खेलाडीको सुरक्षा व्यवस्था आयोजकले गर्न नसकेको आरोपसमेत लगाएको छ । खेलाडीको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर प्रतियोगिता तत्कालै रोकिनुपर्ने आयोजकसँग उनीहरूले आग्रह गरेका छन् । यता फुटबलको सर्वोच्च संस्था फिफाले खेलाडीप्रति सहानुभूति दिएको छ । यस घटनाले पाँच महिनापछि दक्षिण अफ्रिकामा हुने विश्वकप फुटबल प्रतियोगितामा समेत असर पुर्याउने दाबी एजेन्सीहरूले गरेका छन् ।
No comments:
Post a Comment