News

Jan 10, 2010

कवि टंक सम्वाहाम्फेलाई हङकङ पुलिसद्वारा ज्यादति

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/अशोक रार्इ
१० जनवरी, २०१०, कवि तथा ब्लग मिडीयाकर्मी टंक सम्बाहाम्फेले एक प्रेस सम्मेलन आयोजना गरि हङकङ पुलिसले आफूलाई ज्यादति गरेको कुरा बताउनु भएकोछ । वहाँले गत २० डिसेम्बर २००९ का दिन कामबाट पर्कदै गर्दा आफ्नै बासस्थान छेउ याउमातेइमा हङकङ पुलिसले एक चाइनिज महिलाको बलत्कार घटनामा संलग्न भएको आशंकामा आफूलाई गिरफ्तार गरि प्रहरी हिरासतमा ४८ घण्टा र बाँकी अस्थाई जेलमा गरि ८ दिनसम्म मानसिक तथा शरिरिक यातना दिएको बताउनु भएकोछ । घटना अनुसार त्यो दिन चाइनिज मुलकी एक युवतीको बलत्कार भएको र बलत्कृत युवतीले आफूलाई बलत्कार गर्ने तीन जना ब्यक्तिहरू दक्षिण एशियाली मूलको भएको सिकायत पुलिसलाई गरेको र शंकाको भरमा वहाँलाई गिरफ्तार गरिएको बुझ्नमा आएको छ ।वहाँले प्रेस विज्ञप्तीमा आफू निर्दोष हुँदाहुँदै पनि प्रहरीले आफ्नो कुरा नसुनेको तथा दक्षिण एसियाली मूलको भएकै भरमा गिरफ्तार गरिनु अन्याय भएको बताउनु भएकोछ । यो घटनाबाट आफूले सामाजिक, पारिवारिक तथा आर्थिक क्षति बेहोर्नु परेको कुरा खुलाउँदै हङकङका नेपाली सामाजिक संघ संस्थाका प्रमुख, बौद्धिक, कानुनविद एबं पत्रकार महानुभावहरूले आफूलाई परेको मर्काप्रति सम्बेदनशील भइदिन र आफ्नो ठाँउबाट सकेको सहयोग गरिदिन आग्रह गर्नुभएकोछ ।जोर्डनस्थित याक एण्ड यती रेष्टुरेण्टमा भएको प्रेस सम्मेलनमा बिभिन्न सामाजिक र राजनैतिक संघ संस्थाका प्रमुख, नेपाली महासंघका प्रमुख, जनजाति महासंघका प्रमुख, पत्रकार तथा कानुनविद र कानुन ब्यवसायीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रथम चरणमा आफूलाई परेको समस्याको बारेमा घटना बिवरण दिएइको थियो भने दोश्रो चरणमा बौद्धिक ब्यक्तित्वहरूको मन्तब्यको कार्यक्रम रहेको थियो । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष हेम लिम्बूले १० दिनसम्म एउटा निर्दोष ब्यक्तिलाई थुनेर यातना दिनु अन्यायपूर्ण भएको भन्दै यो घटनाप्रति चुप लागेर बस्नु नहुने भन्दै यसको बारेमा सबैसित सरसल्लाह गरिने र सकेको कानुनी उपचार खोजिने बताउनु भयो । जनजाति महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङले यो घटनालाई दिल बहादुर हत्या प्रकरणसित जोडेर हेर्नुपर्ने बताउनु भयो । आफूले थाहा पाई आएको कवि टंक सम्बाहाम्फे नेपाली समाजका एक प्रतिष्ठित व्यक्ति रहेको भन्दै यो घटनाको बारेमा स्थानीय पत्रपत्रिका र यहाँका मानव अधिकारकर्मी संस्थालाई पनि गुहार्नुपर्ने बताउनु भयो । जाति र क्षेत्रको आधारमा कसैलाई भेदभाव गर्न नपाईने अन्तराष्ट्रिय कानुन समेत पारित भइसकेको सन्दर्भमा यसरी एक निर्दोष नेपालीलाई यसप्रकारको ज्यादती गरिनु हङकङ पुलिसले नेपालीमाथि गर्दै आएको हेपाह प्रवृतीको अर्को श्रृंखला हो भन्नुभयो । त्यसै गरेर एनआरएन दक्षिण एसिया प्रसान्त क्षेत्रीय संयोजक गणेश इजमले टंक साम्बाहाम्फे निर्दोष ब्यक्ती हुन् भन्ने कुरामा शंका गर्नु नहुने भन्दै आफूलाई थाहा भएसम्मका कानुनी तथ्यहरूको जानकारी गराउनु भयो । मन्तब्य दिनुहुने अन्य ब्यक्तिहरूमा एभरेष्ट सप्ताहिक सम्पादक किसन राई, एमाले हङकङ अध्यक्ष ओमराज सम्बाहाम्फे, याक्थुङ चुम्लुङ सचिब नन्द चंसु, लिम्बुवान मुक्ती मोर्चाका अध्यक्ष जे.बी.ओख्रबु लगायत कवियत्री केवल गंगा गुरुङ थिइन् । केवल गंगा गुरुङ जो सम्बाहाम्फेको गिरफ्तारीको केही समय अघि एउटै साहित्यिक कार्यक्रमबाट फर्किएकी थिइन् । उनले मानिसहरूले बाहिर आफूसहितलाई जोडेर गलत अफबाह फैलाइएकोमा दुःख ब्यक्त गरिन् । वक्ताहरू सबैले टंक सम्बाहाम्फेलाई परेको समस्याप्रति दुःख र सहानुभुती ब्यक्त गर्दै नेपाली भएको नाताले यस्तो अन्यायप्रति जुट्न र जुध्न एक्यबद्धता प्रकट गरेका थिए ।

No comments: