News

Jan 3, 2010

प्रधानमन्त्रीले उपप्रधानमन्त्री कोइरालासँग स्पष्टीकरण माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले संघीयताको बिषयमा दिएको अभिव्यक्तिप्रति संविधानसभा संवैधानिक समितिमा सभासदहरुले आपत्ति जनाएका छन् । यस बिषयमा सभासदहरुले तीब्र आपत्ति जनाएपछि प्रधानमन्त्री माधवकुमार नेपालले उपप्रधानमन्त्री कोइरालासँग स्पष्टीकरण माग गरेका छन् । मन्त्री कोइरालाले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा संघीयताबारे जनमत संग्रहमा जानुपर्ने अभिव्यक्ति दिएकी थिइन । कोइरालाको अभिव्यक्ति अन्तरिम संविधानविपरीत भएको भन्दै संवैधानिक समितिको आज आइतबार बसेको बैठकमा सभासदहरुले तीब्र आपत्ति जनाएका थिए । सभासदहरुले उपप्रधानमन्त्री कोइरालाको अभिव्यक्तिप्रति बैठकमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । संघीयतामा जाने निर्णय नै भईसकेको अवस्थामा जनमत संग्रहमा जानुपर्छ भनेर तपाईंले के भन्नुभएको हो ? स्पष्ट पार्नुस् भनी प्रधानमन्त्रीले मन्त्री कोइरालासँग बैठक चलिरहेको अवस्थामा स्पष्टीकरण माग गरेका थिए । प्रधानमन्त्री नेपालले बैठकमा सहभागी कोइरालालाई संघीयताविरुद्ध अभिव्यक्ति नदिन सचेत गराउँदै हप्काएको समितिका एक सदस्यले जनपुकारलाई बताए । सभासदहरुको तीब्र आपत्तिपछि बैठकमा प्रधानमन्त्री नेपालले उपप्रधानमन्त्री कोइरालाको अभिव्यक्ति व्यक्तिगत भएको स्पष्ट पार्दै सरकार अन्तरिम संविधानको भावना अनुकूल अगाडि बढ्ने बताएका थिए ।

No comments: